शंखरापुर, काठमाण्डौं जेष्ठ १६ गते शनिवार ।
लोपोन्मुख बन्दै गएका परम्परागत बाजागाजा, मौलिक सांगीतिक परम्परा तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले साँखुको ऐतिहासिक पुखुलाछी टोलमा आयोजित ‘साङ्गीतिक सम्पदाको प्रतिध्वनि’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाल राष्ट्रिय खड्गी समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले साँखुको सांस्कृतिक जीवनलाई एकैपटक जीवन्त बनाउनुका साथै परम्परागत कला–संस्कृतिको संरक्षणप्रति नयाँ आशा पनि जगाएको छ।
दिउँसो २ बजेदेखि राति ९ः३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा सानो स्थान भए पनि करिब हजारौं दर्शक तथा सहभागीहरूको उपस्थिति रहेको थियो। स्थानीय सांस्कृतिक समूह, कलाकार, विभिन्न संघसंस्था, गुठी, पुचः, विद्यालय, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई साँखुकै पछिल्ला वर्षहरूको एक महत्वपूर्ण सांस्कृतिक महोत्सवका रूपमा स्थापित गरेको देखिन्थ्यो।
बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै उहाँले शंखरापुरको सांस्कृतिक, सामाजिक तथा आर्थिक विकासका लागि प्रदेश सरकार स्थानीय समुदायसँग सहकार्य गर्न सधैं तत्पर रहेको बताउनुभयो। उहाँले महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरण अपरिहार्य रहेको उल्लेख गर्दै शंखरापुरको पहिचान बोकेको सुकुस खेतीलाई व्यावसायीकरण गर्नुपर्नेमा जोड दिनुभयो।
मन्त्री खड्गीले शंखरापुरका वनजङ्गल, प्राकृतिक सम्पदा र वातावरणीय स्रोतहरू नगरका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै तिनको संरक्षणमा स्थानीय तह, प्रदेश सरकार र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको मूल उद्देश्य नै हराउँदै जान थालेका परम्परागत बाजागाजा र सांगीतिक परम्पराको संरक्षण भएकाले दिनभरि विभिन्न मौलिक वाद्यवादनका प्रस्तुति केन्द्रमा रहे। धिमे, बासुरी, धाः, नय्यँ खिंलगायतका बाजाहरूको सामूहिक प्रस्तुति दिइएको थियो। स्थानीय सयौं कलाकारहरूले एकसाथ परम्परागत वाद्यवादन प्रस्तुत गर्दा सम्पूर्ण पुखुलाछी क्षेत्र सांगीतिक ऊर्जा र सांस्कृतिक गौरवले भरिएको देखिन्थ्यो।
यस अवसरमा बज्रयोगिनी नृत्य, कुमारी नाच, सांस्कृतिक झाँकी तथा स्थानीय समुदायका विविध मौलिक प्रस्तुतिहरूले दर्शकको ध्यान आकर्षित गरेका थिए। विशेषगरी नेवार सभ्यता र साँखुको ऐतिहासिक पहिचान झल्काउने झाँकीहरूले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएका थिए।
कार्यक्रममा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानको झल्को पनि देखिएको थियो। सहभागी अमेरिकी सांगीतिक समूह ब्लु ग्रास जर्नेले आफ्ना विशेष प्रस्तुति प्रस्तुत गरेको थियो। नेपाली मौलिक बाजागाजा र विदेशी सांगीतिक शैलीबीचको संयोजनले दर्शकलाई फरक अनुभव प्रदान गरेको सहभागीहरूले बताएका छन्। यसले कला र संस्कृतिको माध्यमबाट विश्व समुदायसँग संवाद गर्न सकिने सन्देश समेत दिएको थियो।
कुटुम्ब ब्याण्डको प्रस्तुति बन्यो मुख्य आकर्षण
साँझ करिब ६ बजेपछि कार्यक्रमको सबैभन्दा प्रतिक्षित प्रस्तुति लिएर चर्चित नेपाली सांगीतिक समूह कुटुम्ब ब्याण्ड मञ्चमा उत्रिएको थियो। नेपाली लोक तथा परम्परागत बाजागाजालाई आधुनिक शैलीमा प्रस्तुत गर्दै आएको कुटुम्बले करिब २० वटा चर्चित सांगीतिक धुन तथा बाजाका प्रस्तुति दिएपछि दर्शकहरू मन्त्रमुग्ध बनेका थिए।
कुटुम्बका लोकप्रिय धुनहरू बज्नासाथ दर्शकहरू उत्साहपूर्वक सहभागिता जनाउँदै सांगीतिक वातावरणमा रमाएका थिए। साँखुको ऐतिहासिक पुखुलाछी क्षेत्र रातिसम्म कुटुम्बका धुनले गुञ्जायमान बनेको थियो। सांस्कृतिक अभियन्ताहरूका अनुसार आधुनिकताको प्रभावबीच हराउँदै जान थालेका लोकधुन र परम्परागत बाजागाजालाई पुनः जनमानसमा स्थापित गर्न कुटुम्बजस्ता समूहहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ।
संस्कृति संरक्षणमा सामुदायिक अभियान
नेपाल राष्ट्रिय खड्गी समाज केन्द्रीय कार्यसमितिका अध्यक्ष नन्द किशोर शाहीले यस्ता कार्यक्रमहरूले नेपाली कला, संस्कृति, रहनसहन तथा परम्परागत वाद्यवादनको संरक्षण र प्रवर्द्धनका लागि महत्वपूर्ण अवसर सिर्जना गर्ने बताउनुभयो। उहाँले सांस्कृतिक सम्पदाको संरक्षण केवल सरकारी प्रयासबाट सम्भव नहुने भएकाले समुदायस्तरबाट निरन्तर अभियान सञ्चालन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
नेपाल राष्ट्रिय खड्गी समाज काठमाण्डौं जिल्ला समितिका अध्यक्ष पुष्पराज शाहीले क्रमशः हराउँदै गइरहेका बाजागाजा तथा सांस्कृतिक परम्परालाई पुनर्जीवित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृतिसँग जोड्ने माध्यमका रूपमा यस्ता कार्यक्रमलाई लिनुपर्ने बताउनुभयो।
त्यसैगरी नेपाल राष्ट्रिय खड्गी समाज साँखुका अध्यक्ष अर्चेन देव शाहीले शंखरापुर क्षेत्रमा लोपोन्मुख बन्दै गएका परम्परागत बाजागाजालाई संगठित गरी युवा पुस्तामा हस्तान्तरण गर्न सके मात्र तिनको दीर्घकालीन संरक्षण सम्भव हुने बताउनुभयो। वर्षमा कम्तीमा एक वा दुई पटक यस्ता कार्यक्रम आयोजना गर्न सके युवाहरू परम्परागत वाद्यवादनप्रति आकर्षित हुने र सांस्कृतिक सम्पदा संरक्षणमा ठोस योगदान पुग्ने उहाँको भनाइ थियो।
अध्यक्ष शाहीका अनुसार साँखु ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले समृद्ध नगरका रूपमा परिचित रहँदै आएको छ। पछिल्ला वर्षहरूमा यहाँ सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित गतिविधिहरू बढ्दै गएका छन्। यस्ता कार्यक्रमहरूले स्थानीय सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा उजागर गर्नुका साथै पर्यटन विकासको आधारसमेत तयार गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।
स्थानीयको माग– यस्ता कार्यक्रम निरन्तर हुनुपर्छ
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले यस्ता सांस्कृतिक कार्यक्रम बेलाबखत आयोजना भइरहनुपर्ने धारणा व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नै भाषा, संस्कृति, बाजागाजा र परम्पराप्रति आकर्षित गराउनुका साथै समुदायबीचको एकता र सामाजिक सद्भावलाई समेत बलियो बनाउँछ।
स्थानीयवासीहरूले सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि पनि यस्ता गतिविधि महत्वपूर्ण हुने उल्लेख गर्दै साँखुको ऐतिहासिक सम्पदा, धार्मिक महत्व र मौलिक संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन निरन्तर पहल आवश्यक रहेको बताएका छन्।
सम्मान तथा कला प्रदर्शनीले थप्यो आकर्षण
कार्यक्रमका अवसरमा कला, संस्कृति, सामाजिक सेवा तथा सांगीतिक सम्पदाको संरक्षणमा योगदान पुर्याउने विभिन्न स्थानीय क्लब, विद्यालय, गुठी, पुचः तथा सहयोगी संस्थाहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै नेपाल राष्ट्रिय खड्गी समाजका विभिन्न तहमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।
यसै अवसरमा शंखरापुर–७ चलाखुटोलमा शंखरापुर मूर्तिकला तथा चित्रकला संरक्षण समितिद्वारा सञ्चालन गरिएको खुला चित्रकला प्रदर्शनीले पनि आगन्तुकहरूको ध्यान आकर्षित गरेको थियो। प्रदर्शनीमा स्थानीय कलाकारहरूले सिर्जना गरेका चित्र तथा कलाकृतिहरू प्रदर्शन गरिनुका साथै सुपथ मूल्यमा बिक्रीका लागि समेत राखिएको थियो। यसले स्थानीय कलाकारहरूको सिर्जनशीलतालाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
सांस्कृतिक पर्यटनको सम्भावना उजागर
‘साङ्गीतिक सम्पदाको प्रतिध्वनि’ केवल सांगीतिक कार्यक्रम मात्र नभई साँखुको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा कलात्मक पहिचानलाई उजागर गर्ने साझा अभियानका रूपमा स्थापित भएको सहभागीहरूको निष्कर्ष छ। परम्परागत बाजागाजा, नृत्य, लोकधुन र सांस्कृतिक सम्पदाप्रति युवापुस्ताको आकर्षण बढाउनुका साथै कला र सांस्कृतिक पर्यटनको सम्भावनालाई समेत उजागर गर्न कार्यक्रम सफल भएको आयोजकहरूको विश्वास छ।
स्थानीय समुदाय, कलाकार, सांस्कृतिक अभियन्ता, सरकारी निकाय तथा सरोकारवालाहरूको साझा प्रयासबाट मात्र यस्ता अमूल्य सांस्कृतिक सम्पदाको संरक्षण सम्भव हुने सन्देश प्रवाह गर्दै सम्पन्न भएको यो कार्यक्रम साँखुको सांस्कृतिक इतिहासमा स्मरणीय उपलब्धिका रूपमा दर्ज भएको छ।