शंखरापुर काठमाण्डौं।अमेरिकाको न्यु जर्सीमा बुधबार बिहान सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा उपाधि दाबेदार फ्रान्सले स्विडेनलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) मा स्थान सुरक्षित गरेको छ।
फ्रान्सको जितमा कप्तान किलियन एमबाप्पे नायक बने। उनले ४५औँ र ७४औँ मिनेटमा दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे। अर्को गोल ५३औँ मिनेटमा ब्राडली बार्कोलाले माइकल ओलिसेको पासमा गरेका थिए।
खेलको सुरुवातदेखि नै फ्रान्सले स्विडेनमाथि दबाब बनाएको थियो। २०औँ मिनेटमा एमबाप्पेको गोल अफसाइडका कारण मान्यता पाएन भने त्यसपछि उनको अर्को प्रहार पोस्टमा लागेको थियो। माइकल ओलिसेको आकर्षक सिजर किक पनि पोस्टमा लागेर फर्किएको थियो। पहिलो हाफको इन्जुरी समयमा ओस्मान डेम्बेलेको पासलाई सदुपयोग गर्दै एमबाप्पेले उत्कृष्ट गोल गरेपछि फ्रान्सले अग्रता लिएको थियो।
दोस्रो हाफमा पनि फ्रान्सले खेलमाथि नियन्त्रण कायम राख्यो। ५३औँ मिनेटमा बार्कोलाले गोल गर्दै अग्रता दोब्बर बनाए भने ७४औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित पक्का गरे।
यस खेलमा दुई गोल गरेसँगै एमबाप्पेले विश्वकपको नकआउट चरणमा सर्वाधिक १० गोल गर्ने खेलाडीको कीर्तिमान कायम गरेका छन्। साथै, जारी विश्वकपमा उनको गोल संख्या ६ पुगेको छ र उनी गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा रहेका छन्।
विश्वकप इतिहासमा एमबाप्पेले १८ खेलमा १८ गोल पूरा गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। उनी १९ गोल गरेका लियोनेल मेसीभन्दा केवल एक गोलले पछाडि छन्।
अब फ्रान्सले अन्तिम १६ मा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ। जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ पुगेको पाराग्वेसँगको खेल अमेरिकाको फिलाडेल्फियामा हुनेछ। लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यसहित फ्रान्स उच्च लयमा प्रतियोगितामा अघि बढिरहेको छ।