काठमाडौँ–२ मा कविर शर्माको घरदैलो अभियान उत्साहजनक, स्थानीय समस्यामा केन्द्रित संवाद

lawanyasandesh.com

साँखु,काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र काठमाडौँ–२ मा उम्मेदवार कविर शर्माको घरदैलो अभियान उत्साहजनक रूपमा अगाडि बढिरहेको छ। नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका शर्माले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ अन्तर्गत पिपलबोट क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्।


घरदैलो अभियानका क्रममा स्थानीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूले न्यानो स्वागत गर्दै शुभकामना र सुझाव दिएका थिए। मतदातासँग प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिँदै अघि बढाइएको अभियानमा स्थानीय पूर्वाधार विकास, खानेपानी व्यवस्था, ढल निकास तथा सडक सुधारका विषयमा गम्भीर छलफल भएको टोलीले जनाएको छ।


अभियानपछि उम्मेदवार शर्माले मतदाताको विश्वास र सहभागिताले आफूलाई थप जिम्मेवार र ऊर्जावान बनाएको प्रतिक्रिया दिए। उनले सचेत नागरिकको प्रश्न र सुझावलाई नै नीति निर्माणको आधार बनाइने बताए।


कार्यक्रममा युवापुस्ता र महिलाको राजनीतिक सहभागिता बढाउनुपर्ने विषय पनि जोडतोडका साथ उठाइएको थियो। लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन प्रश्न गर्ने, निगरानी गर्ने र सहभागिता जनाउने नागरिक आवश्यक रहेको उनको भनाइ थियो।


हालै गगन थापाले पनि सचेत मतदाता र युवा सहभागिताको आवश्यकतामा जोड दिँदै आएका छन्। सोही सन्दर्भमा शर्माको घरदैलो अभियानलाई मतदातासँग प्रत्यक्ष संवादमार्फत एजेण्डा केन्द्रित बनाइएको बताइएको छ।


अभियान आगामी दिनहरूमा काठमाडौँ–२ का अन्य टोल तथा बस्तीहरूमा समेत निरन्तर सञ्चालन हुने जनाइएको छ।

प्रतिक्रिया