भिमसेन, द्रोपदी, दक्षिणकाली र महाकाली मूर्ति पुनः प्रतिस्थापन — साँखुमा धार्मिक गौरव पुनर्जीवित

lawanyasandesh.com

साँखु, काठमाडौं — २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको ऐतिहासिक भिमसेन मन्दिर पुनर्निर्माणको चरणमा पुगेपछि भिमसेन, द्रोपदी, दक्षिणकाली तथा महाकाली देवीका मूर्तिहरू नव–निर्मित संरचनामा विधिपूर्वक पुनः प्रतिस्थापन गरिएको छ। शंखरापुर नगरपालिका–७ पुखुलाक्षीस्थित उक्त मन्दिरमा आज बिहान ९:०० बजेको शुभसाइतमा राजपुरोहित सुदनराज राजोपाध्यायले शान्तिस्वस्ती पूजा सम्पन्न गरी मूर्तिहरू पुरानै स्थानमा पुनः स्थापना गर्नुभएको हो।

२०७२ सालको भूकम्पपछि लामो समयसम्म जीर्ण अवस्थामा रहेको मन्दिर २०८२ सालमा आंशिक रूपमा पुनर्निर्माण भएपछि स्थानीय बासिन्दाको पहलमा धार्मिक विधि सम्पन्न गर्दै मूर्तिहरू पुनः प्रतिष्ठा गरिएको हो। साँखु शहर निर्माण भइसकेपछि विभिन्न स्थानमा देवदेवीका मूर्ति स्थापना गर्ने क्रममा यस स्थानमा भिमसेनको मूर्ति स्थापना भएको हुन सक्ने अनुमान स्थानीय अग्रजहरूको छ। मूर्तिको गहना किकुँपामा कुँदिएको १०४० नेपाल संवत् लेखिएको गहना साथै यो मूर्तिको स्वरुप, आकृति काठमाडौं भिमसेनस्थानमा रहेको भिमसेन मूर्तिसँग मिल्दोजुल्दो रहेको बताइन्छ।


भिमसेनको मूर्तिसँगै देब्रेपट्टि द्रोपदी र महाकाली तथा दाहिनेपट्टि दक्षिणकाली देवीको मूर्ति रहेको यस मन्दिरलाई ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। प्रस्तरबाट निर्मित करिब चार फिट अग्लो भिमसेन महाराजको मूर्ति साँखु क्षेत्रमा रहेका भिमसेन मूर्तिहरुमा एक अग्लो मूर्ती मानिएको छ।


मूर्तिहरू पुनः प्रतिस्थापन भएसँगै स्थानीय बासिन्दाले धार्मिक आस्था, सांस्कृतिक पहिचान र ऐतिहासिक सम्पदाको संरक्षणतर्फ महत्वपूर्ण कदम भएको बताएका छन्। स्थानीयवासीका अनुसार मन्दिरको पूर्ण पुनर्निर्माण सम्पन्न नभए पनि नियमित पूजा, पर्व तथा धार्मिक गतिविधि सञ्चालन गर्न आंशिक रूपमा बनेको संरचनामै मूर्तिहरू स्थापना गरिएको हो। मन्दिरको गजुर तथा छाना निर्माण अझै बाँकी रहेको बताइएको छ।


यस वर्षको श्री बज्रयोगिनी माताको जात्रामा माई पनि यही टोलमा बिराजमान हुने तयारी रहेकाले नगरपालिकाको ढिलाइका बाबजुद भगवानलाई मन्दिरभित्र राखेर पूजा–आजा सञ्चालन गर्नुपर्ने बाध्यता टोलवासीले लिएको बताइएको छ।

आजको पूजा व्यवस्थापनमा संलग्न कृष्णप्रसाद श्रेष्ठका अनुसार धार्मिक परम्परा निरन्तरता दिन मूर्ति पुनः प्रतिस्थापन आवश्यक ठहर गरिएको हो र छिटो भन्दा छिटो यश मन्दिरको निर्माण सम्पन्न नगरपालिकाले गरिदियोस् भनी यो सूचना उहाँहरू समक्ष पुगोस भन्ने कामना गर्नु भएका छन् ।




यस कार्यले साँखु क्षेत्रको धार्मिक गौरव पुनर्जीवित हुनुका साथै ऐतिहासिक सम्पदाको संरक्षणमा नयाँ ऊर्जा थपिएको स्थानीयको विश्वास छ।

प्रतिक्रिया