कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन असोज ३ र ४ गते

lawanyasandesh.com

शंखरापुर, काठमाडौं — नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन असोज ३ र ४ गते गर्ने निर्णय गरेको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मुलुकको पछिल्लो विषम परिस्थिति तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट भएको क्षतिलाई ध्यानमा राख्दै वडा अधिवेशनको पूर्वनिर्धारित मिति संशोधन गरेको हो।

पार्टी सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार वडा अधिवेशन असोज ३ वा ४ गतेसम्म सम्पन्न गर्ने गरी निर्वाचन प्रक्रिया अघि बढाइनेछ। यसअघि तय गरिएको असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका भने यथावत् राखिएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढीपहिरोबाट ठूलो क्षति भएकाले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाको अवस्थालाई समेत मध्यनजर गरी अधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो। निर्वाचन समितिले आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गरी संशोधित कार्यतालिका कार्यान्वयनमा ल्याउनेछ।

क्रियाशील सदस्यतामा लचकता

महाधिवेशनलाई सहज र सर्वस्वीकार्य बनाउने उद्देश्यले क्रियाशील सदस्यताको विषयमा समेत कांग्रेसले लचक नीति अपनाएको छ। २०८२ पुस २१ गतेसम्म तत्कालीन महामन्त्री तथा हालका सभापति गगन थापा नेतृत्वको समितिले टुंग्याएको क्रियाशील सदस्यता नवीकरणलाई नै आधार मानेर अधिवेशनमा सहभागी हुने निर्णय गरिएको सहमहामन्त्री चौधरीले जानकारी दिनुभयो।

यस निर्णयसँगै १५औँ महाधिवेशनमा सहभागी हुन तत्कालै क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्ने बाध्यता हटेको छ। यद्यपि, महाधिवेशन सम्पन्न नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक तथा नवीकरणको नियमित प्रक्रिया भने निरन्तर रहने कांग्रेसले जनाएको छ।

वडा तहदेखि सुरु हुने अधिवेशनले पार्टीको आगामी नेतृत्व चयनको आधार तय गर्ने भएकाले संशोधित कार्यतालिकालाई कांग्रेसको महाधिवेशन प्रक्रियामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया