खोटाङमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनाग्रस्त।

lawanyasandesh.com

साँखु, काठमाडौँ। खोटाङ जिल्लामा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ। जिल्ला प्रशासन कार्यालय खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेल ले मंगलबार दिउँसो उक्त दुर्घटना भएको पुष्टि गर्दै मानवीय क्षति नभएको जानकारी दिएकी छन्।


उनका अनुसार, केपिलासगढी गाउँपालिका–२ बालावेशी क्षेत्रमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो। मंगलबार दिउँसो १२ बजेर २ मिनेटमा एयर डाइनेष्टीको नाइन एन–एएचक्यु (9N-AHQ) हेलिकोप्टर अनियन्त्रित भई भित्तामा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ।

हेलिकोप्टरमा पाइलट सविन थापा सहित पाँच जना यात्रु सवार थिए। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार काठमाडौंबाट एक परिवार आमाको काजकिरियाका लागि त्यहाँ पुगेको थियो। अवतरण गर्ने क्रममा तीव्र हावाका कारण हेलिकोप्टर सन्तुलन गुमाउँदै दुर्घटनामा परेको जनाइएको छ।

दुर्घटनामा स्थानीय ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको बताइएको छ। घाइते राईलाई एयर डाइनेष्टीकै अर्को हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पाइलट थापासहित अन्य यात्रु सकुशल रहेका छन्। हेलिकोप्टर परिवारका सदस्यहरूलाई लिएर आएको स्पष्ट पारिएको छ।


प्रतिक्रिया