नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका १६ निर्णय सार्वजनिक, १५औँ महाधिवेशन असोज १६–१९ मा

lawanyasandesh.com

साँखु,काठमाण्डौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेर समसामयिक राजनीति, संगठन सुदृढीकरण, संविधान संशोधन, सुशासन र १५औँ महाधिवेशनको कार्यतालिकासहित १६ बुँदे निर्णय सार्वजनिक गरेको छ।



निर्णय नं. १ : समसामयिक विषय
प्रतिनिधिसभा निर्वाचनमार्फत अभिव्यक्त लोकतान्त्रिक चेतनाप्रति सम्मान व्यक्त गर्दै मतदाताप्रति कृतज्ञता जनाएको छ। नयाँ सरकारलाई संविधान, प्रेस स्वतन्त्रता, मानवअधिकार, शक्ति सन्तुलन र सुशासन सुनिश्चित गर्दै काम गर्न शुभकामना दिइएको छ। निर्वाचन परिणामको विस्तृत समीक्षा गर्न सातै प्रदेशमा अध्ययन गर्ने र पार्टीको आगामी रणनीति तय गर्न सभापतिलाई जिम्मेवारी दिइएको छ। साथै मध्यपूर्व संकटबाट नेपाली श्रमिक, रेमिट्यान्स, आपूर्ति र अर्थतन्त्रमा पर्ने असर न्यून गर्न सरकारसँग सहकार्य गर्ने निर्णय गरिएको छ।
निर्णय नं. २ : सुशासन सम्बन्धी सुझाव
भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउँदै २०४८ यताका सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरिएको छ। २०४६ पछिका भ्रष्टाचार काण्डहरूको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न आग्रह गरिएको छ।



निर्णय नं. ३ : संविधान संशोधन अध्ययन समिति
संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञसहित समिति गठन गर्ने निर्णय गरिएको छ।



निर्णय नं. ४ : प्रदेश र स्थानीय सरकार समीक्षा
प्रदेश सरकार तथा स्थानीय तहमा पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको कार्यसम्पादन समीक्षा तथा समन्वयका लागि उपसभापति विश्वप्रकाश शर्मालाई संयोजनको जिम्मेवारी दिइएको छ।



निर्णय नं. ५ : सदस्यता अद्यावधिक अभियान
देशका ६,७४३ वडामा २०८३ वैशाख महिनाभर सदस्यता अद्यावधिक विशेष अभियान सञ्चालन गर्ने र नयाँ कांग्रेस परिचयपत्र वितरण गर्ने निर्णय गरिएको छ।



निर्णय नं. ६ : १५औँ महाधिवेशन कार्यतालिका



नेपाली कांग्रेसले १५औँ महाधिवेशन २०८३ असोज १६–१९ गते काठमाडौंमा गर्ने निर्णय गर्दै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान सञ्चालन गरिनेछ। केन्द्रबाट सदस्यता फाराम वडा तहसम्म पठाइने र १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाइनेछ।
वैशाख १ गतेदेखि मसान्तसम्म ६,७४३ वटै वडाबाट सदस्यता अद्यावधिक गरिनेछ भने प्रत्येक सदस्यले आफ्नै वडाबाट नवीकरण गर्नुपर्नेछ। जेठ मसान्तसम्म जिल्लाबाट सदस्यता विवरण केन्द्रमा पठाइने, असार १५ भित्र केन्द्रले छानबिन टुंग्याउने र असार मसान्तसम्म अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइनेछ।



कार्यतालिकाअनुसार भदौ २ गते वडा अधिवेशन, भदौ ७ गते गाउँ–नगर अधिवेशन, भदौ १७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, भदौ २४ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, असोज २–३ गते जिल्ला अधिवेशन, असोज ७–८ गते प्रदेश अधिवेशन तथा असोज १६–१९ गते केन्द्रीय महाधिवेशन सम्पन्न गरिनेछ।
निर्णय नं. ७ : केन्द्रीय निर्वाचन समिति गठन



१५औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गर्ने र संयोजकमा वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्कालाई अनुमोदन गर्ने निर्णय गरिएको छ।
निर्णय नं. ८ : कांग्रेस लिडरसिप एकेडेमी स्थापना



पार्टी सदस्य, जनप्रतिनिधि तथा नेतृत्व विकासका लागि “कांग्रेस लिडरसिप एकेडेमी” स्थापना गरी नीति, नेतृत्व र सार्वजनिक जिम्मेवारीसम्बन्धी तालिम सञ्चालन गर्ने निर्णय गरिएको छ।
निर्णय नं. ९ : भ्रातृ संघ सम्बन्धी अध्ययन
भ्रातृ संघहरूको अवस्था अध्ययन गरी प्रतिवेदन पेश गर्न महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेलाई जिम्मेवारी दिइएको छ।



निर्णय नं. १० : सांसद अभिमुखीकरण
प्रतिनिधिसभा तथा राष्ट्रियसभामा निर्वाचित सदस्यहरूलाई चैत्र १४ गते संसदीय अभ्याससम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।
निर्णय नं. ११ : नेपाली जनसम्पर्क समिति अध्ययन
विदेशस्थित जनसम्पर्क समितिको सदस्यता, विधान र अधिवेशनबारे अध्ययन गर्न सहमहामन्त्री उदय शमशेर राणाको संयोजकत्वमा समिति गठन गरिएको छ।
निर्णय नं. १२ : केन्द्रीय लेखा समिति गठन
केन्द्रीय लेखा समितिको संयोजकमा भरतकुमार शाहलाई अनुमोदन गर्ने तथा सदस्य चयन अधिकार सभापतिलाई दिने निर्णय गरिएको छ।
निर्णय नं. १३ : सुर्खेत घटनाप्रति दुःख
सुर्खेत गुर्भाकोट नगरपालिका–६ की १६ वर्षीया ईनिशा विकमाथि भएको सामूहिक बलात्कार तथा हत्या घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कडा कारबाहीको माग गरिएको छ।
निर्णय नं. १४ : नियमावली परिमार्जन समिति
नियमावली परिमार्जन तथा निर्देशिका तर्जुमा गर्न सहमहामन्त्री योगेन्द्र चौधरीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरिएको छ।
निर्णय नं. १५ : विनियमावली संशोधन
केन्द्रीय कार्यालय कर्मचारी विनियमावली, २०७९ र केन्द्रीय कार्य सञ्चालन निर्देशिका, २०७९ संशोधन प्रस्ताव स्वीकृत गर्ने निर्णय गरिएको छ।
निर्णय नं. १६ : राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ विधान



राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको विधान २०६३ को दोस्रो संशोधन २०८२ स्वीकृत गर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया