काठमाडौँ (साँखु) । शंखरापुर नगरपालिका–स्थित ऐतिहासिक साँखुमा नयाँ वर्षको अवसर पारेर मनाइने ‘योसिं उठाउने’ परम्परा तथा बिस्का जात्रा यस वर्ष पनि परम्पराअनुसार धूमधामका साथ सम्पन्न भएको छ। करिब ३५८ वर्ष पुरानो यो परम्पराले यहाँको सांस्कृतिक पहिचान, ऐतिहासिक निरन्तरता र सामुदायिक एकतालाई अझ सशक्त रूपमा उजागर गरेको छ।
इतिहासअनुसार नेपाल सम्वत् ७८८ मा तत्कालीन राजा कविन्द्र प्रताप मल्लको पालादेखि सुरु भएको योसिं उठाउने परम्परा आजसम्म जीवित रहनु स्थानीय समुदायका लागि गौरवको विषय बनेको छ। उक्त समय ‘हलीपता’ चढाई विशेष पूजाआजा गरी स्थानीय गुठी तथा समुदाय—किसि खल:, मल्टा खल: र खाँ नेवा: खललाई यसको जिम्मेवारी सुम्पिएको उल्लेख पाइन्छ। यसले साँखुमा सामुदायिक सहभागिता र सांस्कृतिक उत्तरदायित्वको गहिरो जरा बसेको देखाउँछ।
मल्लकालीन परम्पराले शाहकालमा समेत निरन्तरता पाएको प्रमाण भेटिन्छ। विशेषगरी पृथ्वी वीर विक्रम शाहको शासनकालमा नेपाल सम्वत् १००३ मा जिर्ण भइसकेको हलीपता पुनः निर्माण गरी राजाबाटै चढाइएको विवरण हाल फहराइएको हलीपतामा उल्लेख गरिएको छ। यसले परम्पराको संरक्षणमा राज्यस्तरको योगदान समेत रहेको पुष्टि गर्दछ।
साँखुमा मनाइने बिस्का जात्रा वर्षको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो, जुन मेष सङ्क्रान्तिको अवसर पारेर चैतको अन्त्यदेखि वैशाखको प्रारम्भसम्म मनाइन्छ। यस जात्राको मुख्य आकर्षण भनेकै योसिं (लिङ्गो) ठड्याउने र ढाल्ने परम्परा हो, जसले समयको परिवर्तन र नयाँ वर्षको आगमनलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ।
जात्राको तयारीअन्तर्गत यदि पुरानो योसिं जिर्ण भएमा गुठियारहरूले बज्रयोगिनी क्षेत्रको वनबाट उपयुक्त सल्लाको रुख चयन गर्ने परम्परा रहेको छ। रुख चयन गर्दा विशेष पूजा गरी भेंडा बलि चढाइन्छ र त्यसपछि मात्र रुख काटी योसिं तयार पारिन्छ। यदि अघिल्लो वर्षको योसिं सुरक्षित अवस्थामा भएमा त्यसैलाई पुनः प्रयोग गर्ने चलन पनि रहेको छ।
चैत ३० गते साँखुको चलाखु टोलस्थित महालक्ष्मी अष्टमातृका पीठअगाडि विधिपूर्वक बोका बलि पूजा गरी बाजागाजासहित योसिं ठड्याइन्छ। अष्टमातृका देवीहरूको पूजा सम्पन्न गरी भक्तजनहरूलाई प्रसाद वितरण गरिन्छ। सोही दिन साँझपख स्मशान क्षेत्रभित्र रहेको रुद्रायणी देवीको पूजा गर्दै भाले बलि चढाउने परम्परा पनि रहिआएको छ।
योसिंमा झुन्ड्याइने हलीपतामा अष्टमातृका, गणेश, भैरव, चन्द्र र सूर्यका आकृतिहरू कुँदिएका हुन्छन्, जसले धार्मिक तथा सांस्कृतिक महत्वलाई अझ प्रस्ट पार्छन्। योसिं ठड्याएपछि गुठियारहरूले विधिपूर्वक पूजा सम्पन्न गरी सामूहिक रूपमा प्रसाद वितरण गर्छन्।
साँखुको योसिं परम्पराको अर्को विशेषता यसको समय तालिका हो। अन्य स्थानमा संक्रान्तिकै दिन लिङ्गो ढाल्ने प्रचलन भए पनि साँखुमा भने मसान्तमै योसिं उठाइन्छ र वैशाख २ गते मात्र ढाल्ने चलन रहेको छ। यस दिन विभिन्न टोलका बासिन्दाबीच तानातान गर्दै लिङ्गो ढाल्ने परम्पराले उत्सवलाई थप रोमाञ्चक बनाउने गर्दछ।
वैशाख २ गते लिङ्गो ढलेसँगै जात्रा औपचारिक रूपमा सम्पन्न हुन्छ र नयाँ वर्षको सुरुवातलाई पूर्णता दिएको मानिन्छ। यसरी चैत ३० देखि वैशाख २ सम्म मनाइने बिस्का जात्राले धार्मिक आस्था, ऐतिहासिक परम्परा र सामुदायिक एकतालाई एकैसाथ समेटेको देखिन्छ।
समग्रमा साँखुको योसिं उठाउने परम्परा र बिस्का जात्रा केवल एक पर्व मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवन्त सांस्कृतिक सम्पदा हो। यसले स्थानीय समुदायको सक्रियता, आपसी सहकार्य र ऐतिहासिक चेतनालाई निरन्तरता दिँदै साँखुवासीहरूको पहिचानलाई अझ मजबुत बनाइरहेको छ।