साँखु,काठमाण्डौं। लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक खुला स्थान खुल्ला मञ्च आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले औपचारिक रूपमा गेट खोलेर यसको शुभारम्भ गरेकी हुन्।
कार्यक्रममा बोल्दै कार्यवाहक मेयर डङ्गोलले खुल्ला मञ्चलाई जनताको साझा सम्पत्तिका रूपमा संरक्षण र प्रयोग गर्नुपर्नेमा जोड दिइन्। उनले अब यो स्थान सबै नागरिकका लागि खुला रहने र सार्वजनिक कार्यक्रम, सांस्कृतिक गतिविधि तथा विश्रामका लागि व्यवस्थित रूपमा उपयोग गरिने बताइन्।
खुल्ला मञ्च लामो समयदेखि विभिन्न संरचना, पार्किङ तथा अन्य प्रयोगका कारण अतिक्रमित हुँदै आएको थियो। महानगरले पछिल्लो समय ती संरचना हटाउँदै क्षेत्रलाई व्यवस्थित गर्ने अभियान अघि बढाएको थियो।
स्थानीयवासीहरूले खुल्ला मञ्च पुनः सञ्चालनमा आएकोप्रति खुशी व्यक्त गर्दै यसको दीगो व्यवस्थापनमा महानगरले विशेष ध्यान दिनुपर्ने बताएका छन्।
महानगरपालिकाका अनुसार अब खुल्ला मञ्चलाई सफा, सुरक्षित र व्यवस्थित राख्न आवश्यक मापदण्डहरू लागू गरिनेछ।