भगवान ल्याउने क्रममा देउपाचा माथि हजारौँ भक्तजनको सहभागिता, सामूहिक खाजा वितरण

lawanyasandesh.com

साँखु, काठमाडौँ। करिब ३३०० वर्ष पुरानो सांस्कृतिक तथा धार्मिक परम्परा बोकेको श्री बज्रयोगिनी माताको ऐतिहासिक जात्रा साँखुमा धार्मिक आस्था र सांस्कृतिक उल्लासका साथ सुरु भएको छ। ‘मणिशैल महावदान’ ग्रन्थअनुसार कलिगत १८१८ देखि निरन्तर सञ्चालन हुँदै आएको यो जात्रा नेपालकै सबैभन्दा प्राचीन र अनुशासित जात्रामध्ये एक मानिन्छ।

जात्राको मुख्य आकर्षण मानिने ‘क्वाहा:बिज्या’ (देवतालाई मन्दिरबाट तल ल्याउने कार्य) चैत्र १९ गते पूर्णिमाका दिन सम्पन्न भएको छ। बेलुका करिब ८ बजे हजारौँ भक्तजन, स्थानीय बाजागाजा तथा परम्परागत विधिअनुसार बज्रयोगिनी माता सहित शिंघिनी, ब्याघिनी र चिभा द्यो: लाई खटमा राखी शंखरापुरको पुखुलाक्षीस्थित सत्तलमा सकुशल पुर्‍याइएको हो। देवतालाई सत्तलमा विराजमान गराउनुअघि स्थानीय महिलाहरूले धूँल्लाटोलदेखि सुकुण्डा बालेर (लशकुश गर्दै) स्वागत गरेका थिए। यस वर्षको जात्रा ईल्लाटोल र पुखुलाक्षी टोलको संयुक्त पालोमा सञ्चालन भइरहेको जात्रा अध्यक्ष सरोज श्रेष्ठले बताए। हिजो नै भगवानलाई विराजमान गराइसकेपछि धूँल्लाटोलबाट राति ११ बजेसम्म भजन–कीर्तन गरिएको थियो।

भगवान ल्याउने कार्यक्रमअन्तर्गत देउपाचा भन्दा अलि माथि हजारौँ भक्तजन भेला भई सामूहिक रूपमा खाजा ग्रहण गरेका थिए। त्यसपछि धार्मिक बाजागाजा र उल्लासपूर्ण वातावरणबीच खटलाई साँखु शहरतर्फ ल्याइएको थियो। विभिन्न टोलका बासिन्दा, युवा–वृद्ध, महिला तथा सबै धर्मका व्यक्तिहरूको सहभागिताले भगवानलाई शहरमा भित्र्याउने कार्यक्रम अझ रौनकपूर्ण र महत्वपूर्ण बनेको थियो। सहभागीहरूले भक्तिभावका साथ खट तानेर साँखु बजार क्षेत्रसम्म ल्याउँदै जात्रालाई भव्य बनाएका थिए।

साँखुको बज्रयोगिनी जात्रा कडा सामाजिक अनुशासनका लागि पनि परिचित छ। जात्रा अवधिभर साँखु क्षेत्रमा छालाको जुत्ता लगाउन, विदेशी छाता ओढ्न, झगडा गर्न, ऋण असुल्न तथा घरधुरी बाँड्न नपाइने परम्परा छ। साथै खेतीपातीका काम गर्न, विवाहमा बाजा बजाउन र मृत्यु संस्कारका क्रममा समेत बाजागाजा प्रयोग गर्न रोक लगाइन्छ। यस्ता नियमहरूले परापूर्वकालदेखि कायम धार्मिक मर्यादा, सामाजिक एकता र सांस्कृतिक अनुशासनलाई निरन्तरता दिएको स्थानीय बासिन्दा बताउँछन्।


लामो समयदेखि ओझेलमा परेको ‘गुर्जु पल्टन’ परम्परालाई यस वर्ष पनि पुनर्जीवित गरिएको छ। परम्परागत पोशाकमा सजिएको गुर्जु पल्टनले जात्रामा सैन्य अनुशासन, ऐतिहासिक स्मृति र आकर्षण थपेको छ। स्थानीय बाजागाजा, दीपप्रज्वलन, भजनकीर्तन तथा हजारौँ भक्तजनको सहभागिताले साँखु क्षेत्र यतिबेला पूर्ण रूपमा जात्रामय बनेको छ।

प्रतिक्रिया