साँखु, काठमाडौँ। काठमाडौँको फुटुङ्ग क्षेत्रमा मनाइने नारायणी जयन्ति देवी पर्व यस वर्ष पनि परम्परागत विधिअनुसार भव्य रूपमा सञ्चालन हुन गैइरहेको छ। धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामुदायिक एकताको प्रतीकका रूपमा रहेको यो जात्रा विभिन्न चरणमा सम्पन्न गरिन्छ।
परम्पराअनुसार, चैत्र ३० गते राति नारायणी जयन्ति देवीको मूर्तिलाई सुसज्जित खटमा राखी नयाँ वर्षको स्वागत गर्दै नगर परिक्रमा गराइन्छ। यस क्रममा भगवानको मूर्ति घर–घरमा पुर्याइन्छ, जहाँ स्थानीय भक्तजनहरूले श्रद्धापूर्वक पूजा–आराधना गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गर्छन्। घर–घरमा भगवानलाई स्वागत गर्ने यो परम्पराले धार्मिक आस्थासँगै सामाजिक सद्भावलाई समेत मजबुत बनाउने विश्वास गरिएको छ।
त्यसैगरी, वैशाख २ गते यस जात्राको मुख्य आकर्षण ‘मूल जात्रा’ आयोजना गरिन्छ। सो दिन भगवानलाई फुटुङ्गस्थित नाग पोखरीमा विधिपूर्वक डुबाउने विशेष अनुष्ठान गरिन्छ। यस क्रियाकलापले पाप नाश, आत्मशुद्धि तथा वर्षभरि सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ।
जात्राको अन्तिम चरण वैशाख ४ गते सम्पन्न हुन्छ। उक्त दिन पुनः भगवानलाई घर–घरमा लगेर पूजा–आराधना गराइन्छ र विधिपूर्वक बिदावारी दिई एक वर्षका लागि जात्रा समापन गरिन्छ।
यस अवसरमा भक्तजनहरू भावनात्मक रूपमा भगवानसँग विदाइ लिने गर्छन्।
फुटुङ्गमा मनाइने नारायणी जयन्ति देवी जात्रा केवल धार्मिक अनुष्ठान मात्र नभई स्थानीय संस्कृति संरक्षण, परम्पराको निरन्तरता र समुदायबीचको एकताको सशक्त उदाहरणका रूपमा स्थापित हुँदै आएको छ। नयाँ पुस्ताले समेत यस परम्परालाई निरन्तरता दिँदै उत्साहपूर्वक सहभागिता जनाइरहेको छ भन्दै एक स्थानिय भक्तजन सरस्वती मास्केले बताए ।