नेपाल भाषाका महाकवि गिरिजाप्रसाद जोशीको ८७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमसहित मनाइयो

lawanyasandesh.com

साँखु,काठमाडौं । नेपाल भाषाका महाकवि गिरिजा प्रसाद जोशी को ८७ औँ जन्मजयन्ती आज काठमाण्डौंका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरी मनाइएको छ। भाषा, साहित्य तथा संस्कृतिप्रेमीहरूले उहाँको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै स्मरण गरेका छन्।



वि.सं. १९९५ साल चैत ४ गते जन्मनुभएका महाकवि जोशीको वि.सं. २०४४ साल भदौ २२ गते निधन भएको थियो। उहाँ नेपाल भाषा (नेवारी) साहित्यका अग्रणी स्रष्टामध्ये एक मानिनुहुन्छ। कविता, खण्डकाव्य,काव्य तथा कथा लगायत विभिन्न साहित्यिक विधामार्फत उहाँले नेपाल भाषा साहित्यको विकास, संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।



उहाँको जन्मजयन्तीका अवसरमा काठमाण्डौंको शंखरापुर नगरपालिका–६ इपाटोलस्थित क्वांथे तथा रक्तकाली नरदेवी मा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको थियो। साँखुमा भएको कार्यक्रम ज्ञानमाला भजन खलले आयोजना गरेको थियो भने रक्तकाली नरदेवीमा आशा सफुकुथीको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो।



साँखुमा आयोजित कार्यक्रममा भजन प्रस्तुतिसँगै विभिन्न साहित्यकारहरूले आफ्ना रचनाहरू वाचन गर्दै महाकवि जोशीको साहित्यिक योगदानको चर्चा गरेका थिए। त्यस्तै रक्तकाली नरदेवीमा आयोजित कार्यक्रममा महाकवि जोशीको ‘हेल्चा खण्डकाव्य’ पुस्तकको विमोचन गरिएको थियो। सो कार्यक्रममा उपस्थित साहित्यकारहरूले आ–आफ्ना कविता तथा रचनाहरू वाचन गर्दै कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गरेका थिए।



नेपाल भाषा साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका महाकवि जोशीको साहित्यिक धरोहर आज पनि भाषा तथा संस्कृतिप्रेमीहरूका लागि प्रेरणाको स्रोत बनेको वक्ताहरूले बताएका छन्। उहाँको कृतित्वले नेपाल भाषा साहित्यलाई समृद्ध बनाउनुका साथै नयाँ पुस्तालाई आफ्नो भाषा र संस्कृतिप्रति गौरव गर्न प्रेरित गरेको उल्लेख गरिए।

प्रतिक्रिया