अन्तिम समयमा मेरिनो चम्किए, स्पेन सेमिफाइनलमा

lawanyasandesh.com

शंखरापुर,काठमाण्डौं। विश्वकप २०२६ को क्वाटरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको अन्तिम समयमा वैकल्पिक खेलाडी मिकेल मेरिनो नायक बनेपछि स्पेनले लगातार तेस्रो ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा फ्रान्ससँग सेमिफाइनल भिडन्त पक्का गरेको हो।


खेलको ३०औँ मिनेटमा फाबियन रुइजले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। तर ४१औँ मिनेटमा चार्ल्स डे केटेलेरेले उत्कृष्ट हेडमार्फत बराबरी गोल फर्काउँदै बेल्जियमलाई खेलमा पुनः फर्काए। यो गोलसँगै स्पेनले यस विश्वकपमा लगातार ६४९ मिनेटसम्म कायम राखेको ‘क्लिन सिट’को प्रभावशाली कीर्तिमान पनि समाप्त भयो।


दोस्रो हाफमा दुवै टोलीले जितका लागि आक्रामक खेल प्रदर्शन गरे। खेल अतिरिक्त समयतर्फ उन्मुख देखिएको अवस्थामा ८८औँ मिनेटमा स्पेनका प्रशिक्षकको रणनीतिक परिवर्तन निर्णायक बन्यो। ड्यानी ओल्मोको स्थानमा मैदान प्रवेश गरेको मात्र ११७ सेकेन्डपछि मिकेल मेरिनोले पाउ कुबार्सीको शक्तिशाली प्रहारबाट गोलकिपरले नियन्त्रण गर्न नसकेको रिबाउन्ड बललाई जाली चुमाउँदै स्पेनलाई २–१ को रोमाञ्चक जित दिलाए।


मेरिनो यसअघि पनि पोर्चुगलविरुद्धको प्रि–क्वाटरफाइनलमा इन्जुरी समयमा निर्णायक गोल गर्दै स्पेनका उद्धारकर्ता बनेका थिए। लगातार दोस्रो नकआउट खेलमा निर्णायक गोल गरेपछि उनी स्पेनका ‘सुपर–सब’का रूपमा स्थापित भएका छन्।

बेल्जियमका लागि भने ७१औँ मिनेट सबैभन्दा पीडादायी रह्यो। अनुभवी गोलकिपर थिबाउट कोर्टुवा चोटका कारण आँसु झार्दै मैदानबाट बाहिरिन बाध्य भए। उनको स्थानमा आएका वैकल्पिक गोलकिपर सेने लेमेन्सले अन्तिम समयमा गरेको एउटा सामान्य त्रुटि नै टोलीको विश्वकप यात्रा समाप्त हुने कारण बन्यो। यससँगै एक दशकदेखि विश्व फुटबलको बलियो दाबेदार मानिएको बेल्जियमको ‘स्वर्णिम पुस्ता’को विश्वकप जित्ने सपना फेरि अधुरै रह्यो।

खेलपछि स्पेनका युवा स्टार लामिन यमालले टोलीको आत्मविश्वास झल्काउँदै भने, “यदि फ्रान्स कसैसँग डराउनुपर्छ भने त्यो हामीसँग हो। हामी विश्वकपका दुई उत्कृष्ट टोली हौँ र हाम्रो लक्ष्य फाइनल पुग्नु हो।”


अब स्पेनले आगामी जुलाई १४ मा डलासमा हुने सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। यसअघि युरो २०२४ र यूईएफए नेसन्स लिग २०२५ को सेमिफाइनलमा पनि स्पेनले फ्रान्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। त्यसैले यसपटकको भेटलाई विश्व फुटबलकै सबैभन्दा प्रतिक्षित र रोमाञ्चक ‘हाइभोल्टेज’ प्रतिस्पर्धामध्ये एकका रूपमा हेरिएको छ। उपाधि होडमा रहेका दुई युरोपेली महाशक्तिबीचको यो भिडन्तले विश्व फुटबल समर्थकको ध्यान डलासतर्फ केन्द्रित गराएको छ।

प्रतिक्रिया