साँखु जेसीजद्वारा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न, अन्सुला श्रेष्ठ विजेता

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं। युवाहरूमा नेतृत्व क्षमता, तार्किक सोच, प्रभावकारी अभिव्यक्ति कला, आत्मविश्वास तथा राष्ट्र निर्माणप्रतिको उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले साँखु जेसीजद्वारा आयोजित जेसीज सप्ताह–२०२६ अन्तर्गतको चौथो कार्यक्रम अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आइतबार भव्य रूपमा सम्पन्न भएको छ।


शंखरापुर–७ स्थित दि हाकुज रेस्टुरेन्टमा बिहान ११ः३० बजेदेखि सुरु भएको कार्यक्रम अपराह्न ३ः०० बजे सम्पन्न भएको थियो। ‘देश विकासमा युवाहरूको भूमिका’ विषयमा आयोजित प्रतियोगितामा शंखरापुर नगरपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालयका १६ जना विद्यार्थीले उत्साहजनक सहभागिता जनाउँदै राष्ट्र निर्माणमा युवाको भूमिका, गुणस्तरीय शिक्षा, सुशासन, सामाजिक उत्तरदायित्व, नैतिक नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन तथा समृद्ध नेपालको परिकल्पनासम्बन्धी आफ्ना विचार प्रभावशाली ढंगले प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूको प्रस्तुति तार्किक, ओजस्वी र सन्देशमूलक रहेको उपस्थितहरूले बताएका थिए।


प्रतियोगितामा भाग्योदय माध्यमिक विद्यालय, बज्रयोगिनी माध्यमिक विद्यालय, सिद्धिगणेश माध्यमिक विद्यालय, चिरायु माध्यमिक विद्यालय, एमरिन माध्यमिक विद्यालय, कालिका शरण माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय, शेर्पा नेशनल माध्यमिक विद्यालय, हिल साइड माध्यमिक विद्यालय, स्प्रिङ्डेल माध्यमिक विद्यालय, संगम माध्यमिक विद्यालय तथा उग्रतारा माध्यमिक विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रमको अध्यक्षता साँखु जेसीज वर्ष–२०२६ का अध्यक्ष जेसी आशिष पुखुसीले गर्नुभएको थियो। कार्यक्रमका मूल संयोजक जेसी रोनन सिंह तथा कार्यक्रम संयोजक जेसी मनिष मल्ल रहनुभएको थियो भने कार्यक्रम सञ्चालन साँखु जेसीज वर्ष–२०२६ का महासचिव जेसी पवन श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रमको शुभारम्भ राष्ट्रिय गानसँगै गरिएको थियो भने जेसीज आस्था पाठ महासचिव जेसी पवन श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रम संयोजक जेसी मनिष मल्लले स्वागत मन्तव्य व्यक्त गर्दै प्रतियोगिताले विद्यार्थीहरूमा बौद्धिक क्षमता, नेतृत्व विकास र सकारात्मक प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।


प्रतियोगिताको मूल्याङ्कन साँखु जेसीजका पूर्व अध्यक्ष जेसी तुलसी बहादुर श्रेष्ठ, साँखु जेसीज वर्ष–२०२१ का अध्यक्ष जेसी सुजन श्रेष्ठ, काठमाडौं जेसीज वर्ष–२०२६ का शाखा अध्यक्ष **जेसी विकास श्रेष्ठ (मिलन)**ले गर्नुभएको थियो। निर्णायकहरूले विषयवस्तुको प्रस्तुति, भाषाशैली, तार्किकता, आत्मविश्वास, समय व्यवस्थापन तथा समग्र प्रभावकारिताका आधारमा प्रतियोगीहरूको मूल्याङ्कन गर्नुभएको थियो।


कार्यक्रममा बोल्दै मूल संयोजक जेसी रोनन सिंहले विद्यार्थी जीवनदेखि नै यस्ता बौद्धिक तथा सिर्जनात्मक प्रतियोगितामा सहभागी गराउँदा व्यक्तित्व विकास, नेतृत्व क्षमता, आत्मविश्वास तथा अभिव्यक्ति कलामा उल्लेखनीय निखार आउने बताउनुभयो। उहाँले समाजलाई अझ सभ्य, सक्षम र जिम्मेवार बनाउन विद्यालय तहदेखि नै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।


कार्यक्रम संयोजक जेसी मनिष मल्लले प्रतियोगिता केवल जित वा हारको विषय मात्र नभई सिकाइ, अनुभव, अनुशासन, आत्मविश्वास र नेतृत्व विकास गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो। प्रत्येक सहभागी आफैंमा विजेता रहेको भन्दै उहाँले निरन्तर अभ्यास र मेहनतले भविष्यमा अझ ठूलो सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।


कार्यक्रमको समापन गर्दै साँखु जेसीज वर्ष–२०२६ का अध्यक्ष जेसी आशिष पुखुसीले प्रतियोगिता सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्णायक मण्डल, सहभागी विद्यालय, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, आयोजक टोली तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा, सिर्जनशील सोच, स्वस्थ प्रतिस्पर्धा, सामाजिक उत्तरदायित्व र नेतृत्व क्षमताको विकास गरी भविष्यका सक्षम तथा प्रतिष्ठित नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।


प्रतियोगिताको नतिजाअनुसार चिरायु माध्यमिक विद्यालयकी अन्सुला श्रेष्ठ प्रथम, सोही विद्यालयकी श्रीया श्रेष्ठ द्वितीय तथा भाग्योदय माध्यमिक विद्यालयकी कोपिला पुरी तृतीय हुन सफल भएका छन्। विजेता तथा सहभागी विद्यार्थीहरूलाई ट्रफी, प्रमाणपत्र तथा पुरस्कार आगामी श्रावण १६ गते शनिबार आयोजना हुने जेसीज सप्ताह–२०२६ को समापन समारोहमा वितरण गरिने आयोजकले जनाएको छ।


साँखु जेसीजले आफ्नो आदर्श वाक्य "मनुष्यको बन्धुत्व भावना, राष्ट्रहरूको प्रभुसत्ताभन्दा सर्वोपरि छ" लाई आत्मसात गर्दै युवाहरूको नेतृत्व विकास, व्यक्तित्व निर्माण, सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवाको भावनालाई सशक्त बनाउने उद्देश्यले जेसीज सप्ताह–२०२६ अन्तर्गत निरन्तर शैक्षिक, सामाजिक, स्वास्थ्य तथा रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।


यस प्रतियोगिताले शंखरापुर क्षेत्रका विद्यार्थीहरूमा बौद्धिक क्षमता अभिवृद्धि, सार्वजनिक वक्तृत्वकला विकास तथा राष्ट्रप्रति सकारात्मक सोच र जिम्मेवारीबोध जगाउन महत्वपूर्ण भूमिका खेलेको सहभागी शिक्षकहरूले बताएका छन्। स्थानीय स्तरमा यस्ता सिर्जनात्मक कार्यक्रमको निरन्तरताले शंखरापुरका विद्यार्थीहरूको प्रतिभा उजागर हुनुका साथै भविष्यका सक्षम नेतृत्व तयार पार्न थप टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया