अत्यधिक गतिका कारण शंखरापुरमा कार दुर्घटना, चालक घाइते

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं। शंखरापुर नगरपालिका–९ कुसुमथली सडकखण्डमा अत्यधिक गतिका कारण कार दुर्घटना हुँदा एकजना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका चालकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।


प्रहरी प्रभाग साँखुका अनुसार आज साँझ करिब ७ बजे साँखुबाट काठमाण्डौंतर्फ जाँदै गरेको बागमती प्रदेश ३–०१०२३ च १९७७ नम्बरको कार अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो। प्रारम्भिक अनुसन्धानबाट सडक फराकिलो तथा सामान्य अवस्थामा रहे पनि उक्त स्थानमा रहेको मोड (टर्निङ) पार गर्ने क्रममा सवारीसाधनको अत्यधिक गतिका कारण चालकले नियन्त्रण गुमाएको अनुमान गरिएको छ।

दुर्घटनामा परी कार चालक तथा सवार भक्तपुर निवासी ३२ वर्षीय अर्जुन खतिवडा घाइते भएका छन्। घाइते खतिवडाको अवस्था सामान्य रहेको, उनी बोल्न सक्ने अवस्थामा रहेको तथा सलम्बुटारस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


दुर्घटनास्थल नजिक रहेको hoxton view resort को  सीसीटीभी फुटेजमा कार अत्यधिक गतिमा गुडिरहेको र मोडमा पुग्दा नियन्त्रणभन्दा बाहिर गएको दृश्य देखिएको स्रोतले जनाएको छ। दुर्घटनामा परेको कार करिव १५० मिटर सडकबाट तल खसेको देखिन्छ ।उक्त फुटेजलाई समेत अनुसन्धानको आधारका रूपमा हेरिएको बताइएको छ।


प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको छ। सवारी साधनमा भएको क्षतिको यकिन विवरण, प्राविधिक पक्ष तथा अन्य सम्भावित कारणबारे अध्ययन भइरहेको जनाइएको छ। दुर्घटना भएको स्थानको प्राविधिक अवस्था, चालकको लापरवाही वा अन्य कारणको विषयमा समेत अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

स्थानीयवासीका अनुसार कुसुमथली सडकखण्ड फराकिलो तर मोड भएकाले कतिपय चालकले निर्धारित सीमाभन्दा बढी गतिमा सवारी चलाउने गरेका छन्। विशेषगरी मोड तथा घुम्ती क्षेत्रमा सावधानी नअपनाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले सम्बन्धित निकायले सवारी चालकलाई गति नियन्त्रणमा राखी ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।


यस घटनाले फेरि एकपटक सडक दुर्घटनाका प्रमुख कारणमध्ये अत्यधिक गति पनि रहेको तथ्यलाई उजागर गरेको छ। सडकको अवस्था राम्रो भए पनि असावधानी र तीव्र गतिका कारण दुर्घटना हुन सक्ने भएकाले सुरक्षित यात्राका लागि चालकको जिम्मेवारीपूर्ण व्यवहार अपरिहार्य रहेको स्थानीयवासीले बताएका छन्।

प्रतिक्रिया