शंखरापुर,काठमाण्डौं। — काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपालीकी छोरीलाई स्नातक तहसम्म निःशुल्क अध्ययन गराउने घोषणा गरिएको छ। नेपाली कांग्रेसका नेता मोहन बस्नेतले शोकसन्तप्त परिवारलाई घरव्यवहार सञ्चालन तथा पौष्टिक आहारका लागि तत्काल एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
कर्णाली प्रदेशको सुर्खेत रंगशालामा शनिबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेता बस्नेतले गणेश नेपालीको निधनले एउटा परिवारमाथि ठूलो बज्रपात परेको उल्लेख गर्दै उहाँकी छोरीको भविष्य सुरक्षित गर्न आफूले स्नातक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाउने पहल गर्ने घोषणा गर्नुभयो।
उहाँले भन्नुभयो, “परिवारको घरव्यवहार सञ्चालन गर्न र आवश्यक पौष्टिक आहारका लागि तत्काल एक लाख रुपैयाँको व्यवस्था गरिदिन्छु। साथै, बालिकाको भविष्य सुरक्षित होस् भन्ने उद्देश्यले स्नातक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाउन आवश्यक पहल गर्छु। यो मेरो सार्वजनिक प्रतिबद्धता हो।”
बस्नेतले काठमाडौं महानगरपालिकाले भविष्यमा कस्तो सहयोग गर्छ भन्ने निश्चित नभएकाले दीर्घकालीन रूपमा बालिकाको शिक्षाको जिम्मेवारी सुनिश्चित गर्न आफू अग्रसर भएको बताउनुभयो। उहाँले तीन वर्षअघि संसद् भवनअगाडि आत्मदाह गरेका प्रेम आचार्यका दुई सन्तानको निःशुल्क अध्ययनको व्यवस्था मिलाउन पनि आफूले पहल गरेको स्मरण गराउँदै दुःखमा परेका परिवारको साथमा उभिनु सामाजिक दायित्व भएको धारणा व्यक्त गर्नुभयो।
प्रारम्भिक जानकारी अनुसार, गणेश नेपालीले बिहीबार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले उहाँको मोटरसाइकलमा ह्विल लक लगाएपछि उत्पन्न विवादका क्रममा त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्नुभएको थियो। गम्भीर घाइते अवस्थामा उहाँलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकहरूका अनुसार उहाँको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। उपचारकै क्रममा शुक्रबार उहाँको निधन भएको हो।
गणेश नेपालीको परिवारमा पत्नी र एक छोरी रहेका छन्। उहाँहरू हाल भक्तपुरमा बसोबास गर्दै आएको बताइएको छ। उहाँको निधनसँगै परिवार शोकमा डुबेको छ भने छोरीको शिक्षा र परिवारको भविष्यप्रति सर्वत्र चासो व्यक्त हुन थालेको छ।
घटनापछि प्रधानमन्त्री कार्यालयका प्रतिनिधिहरूले पीडित परिवारसँग भेटघाट गरी छलफल गरेका छन्। यद्यपि हालसम्म कुनै ठोस सहमति हुन नसकेको र थप संवादको तयारी भइरहेको जनाइएको छ। काठमाडौं महानगरपालिका तथा सम्बन्धित मन्त्रालयबाट भने घटनाका विषयमा विस्तृत आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन।
यस घटनाको सत्यतथ्य पत्ता लगाउन काठमाडौं उपत्यका प्रहरी कार्यालयले पाँच सदस्यीय छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले घटनाका सबै पक्षको निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएको छ।
गणेश नेपालीको दुःखद निधनपछि देशभरबाट शोक, समवेदना र न्यायको माग बढ्दै गएको छ। सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म राज्यका निकायको सेवा प्रवाह, नागरिकप्रतिको व्यवहार तथा सार्वजनिक उत्तरदायित्वका विषयमा व्यापक छलफल भइरहेको छ। विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज तथा सर्वसाधारणले पीडित परिवारलाई राहत, उचित क्षतिपूर्ति, निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
घटनाको वास्तविक कारण र जिम्मेवारी निर्धारण गर्ने प्रक्रिया भने अझै अनुसन्धानकै चरणमा रहेकाले सम्बन्धित निकायको आधिकारिक निष्कर्ष आउन बाँकी छ।