काठमाडौँ उपत्यका र साँखु–शंखरापुरमा २ दिनसम्म बदली र वर्षाको सम्भावना,२७ चैत्रदेखि मौसममा सुधार आउने

lawanyasandesh.com

साँखु, काठमाडौँ।
​नेपालभरि हाल मौसममा उतारचढाव देखिएसँगै काठमाडौँ उपत्यका र विशेषगरी साँखु–शंखरापुर क्षेत्रमा आगामी दुई दिनसम्म मौसम अस्थिर रहने देखिएको छ। जल तथा मौसम विज्ञान विभाग र विभिन्न मौसम पूर्वानुमान स्रोतहरूका अनुसार, पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका पहाडी तथा हिमाली भू–भागमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको छ।
साँखु र उपत्यकामा (भोलि) चैत्र २६ गते बिहीबार पनि मौसम पूर्ण रूपमा खुल्ने देखिँदैन। आंशिकदेखि सामान्य बदली भई केही समय हल्का  वर्षा हुने सम्भावना छ। साँझपख मौसम पुनः बदली भई चिसो बढ्न सकेत छ।
२७ चैत्र (पर्सि): शुक्रबारदेखि भने मौसममा क्रमिक सुधार आउने संकेत देखिएको छ। वर्षाको सम्भावना न्यून हुँदै जाने र दिनभर घाम लाग्ने देखिन्छ। तापक्रममा वृद्धि भई गर्मी महसुस हुनेछ।
वर्षाको प्रभाव कहाँ-कहाँ?
​आगामी ७२ घण्टाभित्र बागमती प्रदेश (काठमाडौँ, भक्तपुर, ललितपुर) सँगै गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा वर्षाको सम्भावना छ। विशेषगरी पहाडी इलाकामा मेघगर्जन र असिनाको चेतावनी दिइएकाले सतर्कता अपनाउनु जरुरी देखिन्छ। तराईका जिल्लाहरूमा भने बादल लाग्ने र हल्का प्रभाव मात्र देखिने सम्भावना छ।
स्थानीय बासिन्दालाई विशेष सल्लाह
​साँखु–शंखरापुर क्षेत्र कृषि र खुला बजारका लागि परिचित रहेकाले अचानक आउने वर्षा र असिनाबाट जोगिन स्थानीयलाई सचेत रहन अनुरोध गरिएको छ भने बाहिर निस्कँदा छाता वा रेनकोट साथमै राख्न र मेघगर्जनका बेला सुरक्षित स्थानमा ओत लाग्न मौसमविद्हरूले सुझाव दिएका छन्।२७ चैत्रपछि मौसम सफा हुँदै जाने भएकाले खेतीपाती वा अन्य बाहिरी काम त्यसपछि गर्दा सहज हुने देखिन्छ।

प्रतिक्रिया