साँखु जेसीजद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ७० जनाले गरे रक्तदान

lawanyasandesh.com

साँखु काठमाण्डौं।

साँखु जेसीज वर्ष २०२६ ले सञ्चालन गरिरहेको ‘जेसीज सप्ताह–२०२६’ अन्तर्गतको तेस्रो कार्यक्रमका रूपमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। समाजमा मानवीय सेवा, सामाजिक उत्तरदायित्व र जीवनरक्षाको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको थियो।


कार्यक्रममा ७० जना रक्तदाताले स्वेच्छिक रूपमा रक्तदान गर्दै मानव जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान दिएका छन्। आयोजक जेसिजका मूल संयोजक रोनन सिंका अनुसार रक्तदाताहरूको निस्वार्थ सेवाभावले अस्पतालमा रगत अभावका कारण उपचार कुरिरहेका बिरामीहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा सहभागी प्रत्येक रक्तदाताको योगदानलाई समाजप्रतिको उच्च जिम्मेवारी र मानवीय संवेदनाको उदाहरणका रूपमा प्रशंसा गरिएको छ।

रक्तदान कार्यक्रमलाई सफल बनाउन नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखा ले प्राविधिक सहयोग उपलब्ध गराएको थियो। रक्त संकलन, स्वास्थ्य परीक्षण तथा सम्पूर्ण प्राविधिक व्यवस्थापन रेडक्रसको टोलीले प्रभावकारी रूपमा सञ्चालन गरेको आयोजकले जनाएको छ।


त्यसैगरी, साँखु जेसीज वर्ष २०२६ का बोर्ड पदाधिकारी, सदस्यहरू तथा पूर्व अध्यक्षहरूको सक्रिय सहभागिता, मार्गदर्शन र सहयोगले कार्यक्रम अझ व्यवस्थित र सफल बनेको आयोजकको भनाई छ। जेसीज परिवारको सामूहिक सक्रियता, अनुशासन र सेवाभावले कार्यक्रमलाई सफलताको उचाइमा पुर्‍याएको उल्लेख गरिएको छ।

कार्यक्रमका संयोजक जेसी कञ्चन श्रेष्ठ, मूल संयोजक जेसी रोनन सिंह तथा साँखु जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी आशिष पुखुसी को नेतृत्वमा सम्पूर्ण आयोजक टोलीले कार्यक्रम सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको जनाइएको छ। स्वयंसेवक, व्यवस्थापन टोली तथा सम्पूर्ण जेसीज परिवारको समर्पित प्रयासका कारण कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको हो।


कार्यक्रम सम्पन्न भएपछि साँखु जेसीजका अध्यक्ष आशिषले विज्ञप्तिमार्फत रक्तदानमा सहभागी सम्पूर्ण रक्तदाता, सहयोगी संस्था, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबै महानुभावप्रति हार्दिक आभार व्यक्त गरेको छ। आयोजकले रक्तदान जस्तो पुण्य कार्यमा सहभागी प्रत्येक व्यक्तिको योगदानले समाजमा जीवनप्रतिको उत्तरदायित्व र मानवीय मूल्यलाई थप मजबुत बनाएको उल्लेख गरेको छ।

साँखु जेसीजले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा नेतृत्व विकास तथा सामाजिक सेवासँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गर्दै समुदायको समग्र विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ। आयोजकका अनुसार ‘जेसीज सप्ताह–२०२६’ अन्तर्गतका आगामी कार्यक्रमहरू पनि सामाजिक हित र जनचेतनामूलक उद्देश्यका साथ निरन्तर सञ्चालन गरिनेछन्।


रक्तदानलाई जीवनदानका रूपमा लिइने भएकाले यस कार्यक्रममा ७० जनाले गरेको रक्तदानले धेरै बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। स्थानीय समुदायले पनि साँखु जेसीजको यस मानवीय अभियानको खुलेर प्रशंसा गर्दै आगामी दिनमा यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।

प्रतिक्रिया