रोल्पाको व्याङखोलामा त्रासदी : गहिरो भीरमा खसेको बोलेरो, उद्धारमा प्रहरी–सशस्त्रपछि नेपाली सेना खटियो

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं। रोल्पाको दुर्गम घर्ती गाउँ क्षेत्रमा भएको दर्दनाक सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। शहिद मार्ग अन्तर्गत माडी गाउँपालिका–२ स्थित व्याङखोला नजिकै अस्थायी नम्बर प्लेट भएको सिंगल क्याब पिकअप बोलेरो करिब ६०० मिटर गहिरो भीरमा खस्दा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनास्थल अत्यन्तै भिरालो, घना जंगलले ढाकिएको र मानव पहुँचका लागि कठिन भएकाले उद्धार कार्यमा ठूलो चुनौती उत्पन्न भएको छ।

प्रहरीका अनुसार दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–७ देसाही निवासी २५ वर्षीय चालक वीरबहादुर चौधरी, दंगीशरण गाउँपालिका–७ श्रीगाउँ घर भई हाल घोराही–१४ मा बस्दै आएका ४० वर्षीय जिउधन चौधरी तथा उनकी ३० वर्षीया श्रीमती कमला चौधरीको मृत्यु भएको हो।

चालकको शव निकाल्न नेपाली सेना परिचालन

दुर्घटनास्थल अत्यन्तै जोखिमपूर्ण भएकाले मृतकमध्ये चालक वीरबहादुर चौधरीको शवसम्म पुग्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई कठिनाइ भएको थियो। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखुका अनुसार श्रीमान–श्रीमतीको शव घण्टौँको प्रयासपछि माथिल्लो सडकसम्म ल्याउन सफल भए पनि चालकको शव रहेको स्थानमा पुग्न नसकिएपछि नेपाली सेनाको सहयोग मागिएको थियो।

नेपाली सेनाको टोली बिहीबार दिउँसो साढे १ बजेतिर घटनास्थलमा पुगेर घिर्नी, पुल्ली तथा अन्य विशेष उद्धार सामग्री प्रयोग गरी शव निकाल्ने अभियान सञ्चालन गरिरहेको छ। भीरको संरचना अत्यन्तै जोखिमयुक्त भएकाले उद्धार कार्य सावधानीपूर्वक अघि बढाइएको जनाइएको छ।

रातिको दुर्घटना, बिहान मात्रै थाहा

प्रहरीका अनुसार दुर्घटना बुधबार राति करिब ११ बजेदेखि मध्यरातसम्मको समयमा भएको अनुमान गरिएको छ। तर दुर्घटनास्थल घना जंगल र सुनसान क्षेत्रमा परेकाले रातभर कसैले घटनाबारे जानकारी पाउन सकेनन्।

बिहीबार बिहान स्थानीय बासिन्दा यात्रा गर्ने क्रममा माथिबाट भीरमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट प्रहरी हवल्दार लालप्रसाद चुदालीको नेतृत्वमा ट्राफिकसहित पाँच सदस्यीय टोली बिहान ९ बजे घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी प्रमुख डीएसपी बाखुको नेतृत्वमा थप नौ सदस्यीय टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलमा परिचालित भएको थियो।

दुर्घटनाको कारण अझै रहस्यमै

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सडकको अवस्था सामान्य रहेको जनाएको छ। दुर्घटनास्थलमा कुनै तीव्र घुम्ती, उकालो वा जोखिमपूर्ण मोड नभएको बताइएको छ।

डीएसपी बाखुले भने, “यो दाङलगायत बाहिरी जिल्लाबाट चल्ने रात्रीकालीन सवारीका लागि प्रयोग हुने मुख्य सडक हो। सडकमा कुनै विशेष समस्या देखिएको छैन। रातिको समय भएकाले चालक निदाएको हुन सक्ने आशंका गरिएको छ, तर यकिन कारण अनुसन्धानबाट मात्रै खुल्नेछ।”

प्रहरीले यान्त्रिक खराबी, चालकको थकान, निद्रा वा अन्य सम्भावित कारणबारे पनि अनुसन्धान जारी राखेको जनाएको छ।

चेकपोस्टमा इन्ट्री गराएर हिँडेको थियो गाडी

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता कृष्ण श्रेष्ठका अनुसार दुर्घटनाग्रस्त पिकअप बोलेरोले जेठ २० गते राति करिब १०:३० बजे इलाका प्रहरी कार्यालय होलेरीको चेकपोस्टमा विवरण दर्ता गराएको थियो।

त्यसबेला चालक वीरबहादुर चौधरीले उक्त गाडी घोराहीस्थित “सिद्धबाबा सप्लायर्स” बाट होलेरीतर्फ सामान पुर्‍याएर फर्किरहेको जानकारी दिएका थिए। सोही अभिलेखका आधारमा प्रहरीले मृतकहरूको पहिचान गर्न सफल भएको हो। दुर्घटनास्थल दुर्गम क्षेत्रमा रहेको र परिचय खुल्ने कागजातहरू क्षतिग्रस्त अवस्थामा भेटिएकाले सनाखत प्रक्रिया केही समय ढिलो भएको प्रहरीले जनाएको छ।

दुर्गम सडकमा बढ्दो जोखिम

व्याङखोला क्षेत्र रोल्पाको पहाडी भूभागभित्र पर्ने भएकाले यहाँका सडकहरू प्राकृतिक जोखिमले भरिएका छन्। वर्षेनी यस्ता दुर्गम सडकमा हुने दुर्घटनाले ठूलो मानवीय क्षति निम्त्याउने गरेको छ। पछिल्लो घटनाले रात्रीकालीन यात्रामा चालकको स्वास्थ्य अवस्था, विश्राम व्यवस्थापन, सडक सुरक्षाका मापदण्ड र दुर्गम क्षेत्रमा उद्धार क्षमताको विषयलाई पुनः बहसमा ल्याएको छ।

दुर्घटनापछि स्थानीयवासी तथा यात्रुहरूमा शोक छाएको छ भने प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा उद्धार तथा अनुसन्धान कार्यलाई निरन्तरता दिएका छन्। दुर्घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक अनुसन्धानपछि मात्रै थप तथ्य सार्वजनिक हुने प्रहरीको भनाइ छ।

प्रतिक्रिया