साँखु,काठमाण्डौं।काठमाण्डौं उपत्यकामा अवस्थित चार योगिनी शक्तिपीठहरूको सामूहिक दर्शन गर्ने उद्देश्यले आयोजित बृहत् धार्मिक यात्रा आज सुरु गरिएको छ। मिसा लिधंसा पुचः ओन्दे काठमाडौँ महानगरपालिका वडा नं. १२ ओगल येँको आयोजनामा भएको उक्त कार्यक्रममा भक्तजनहरू सामूहिक रूपमा विभिन्न शक्तिपीठहरूको दर्शनका लागि निस्किएका हुन्।
यात्राअन्तर्गत पहिलो चरणमा ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको साँखुस्थित खड्गयोगिनी माताको दर्शन गर्न टोली आज साँखु आइपुगेको छ। यहाँ सञ्चालन भइरहेको जात्राको शुभ अवसर पारेर आयोजना गरिएको दर्शन कार्यक्रममा उपत्यकाका विभिन्न स्थानबाट आएका १५० भन्दा बढी भक्तजनहरूको सहभागिता रहेको आयोजक समितिले जनाएको छ।
भक्तजनहरूले खड्गयोगिनी माताको दर्शन तथा पूजाआजा सम्पन्न गरेपछि यात्रा क्रमशः स्वयम्भुस्थित बिजेश्वरी माता, पुरानो गुहेश्वरी–बालाजु तारकेश्वर क्षेत्रमा रहेको गुहेश्वरी माता तथा दक्षिणकाली–फर्पिङ क्षेत्रस्थित बज्रयोगिनी माताको दर्शनका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उपत्यकाभर फैलिएका यी चार योगिनी शक्तिपीठहरूको सामूहिक दर्शनले धार्मिक आस्था, सांस्कृतिक एकता तथा परम्परागत सम्पदाको संरक्षणमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
आयोजकका अनुसार सामूहिक रूपमा गरिने यस्तो दर्शन यात्राले भक्तजनबीच आपसी सद्भाव बढाउनुका साथै उपत्यकाको प्राचीन शक्तिपीठ परम्परालाई जीवन्त राख्ने उद्देश्य राखिएको छ। श्रद्धालुहरूले प्रत्येक स्थानमा विशेष पूजाआजा, दर्शन तथा धार्मिक अनुष्ठान सम्पन्न गर्ने कार्यक्रम तय गरिएको छ।
उक्त बृहत् यात्राले उपत्यकाका चार योगिनी शक्तिपीठहरूबीचको धार्मिक सम्बन्धलाई पुनः स्मरण गराउँदै भक्तजनहरूमा आध्यात्मिक उत्साह थपिएको सहभागीहरूले बताएका छ्न्।