साँखु, काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा विश्व क्षयरोग दिवस २०२६ को अवसरमा क्षयरोग बिरामीहरूलाई लक्षित गर्दै पोषण तथा सरसफाइ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
“हो! हामी क्षयरोग अन्त्य गर्छौं — राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा क्षयरोग नियन्त्रण, सन्तुलित पोषणयुक्त आहारको आवश्यकता तथा व्यक्तिगत सरसफाइको महत्त्वबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
कागेश्वरी मनोहरा नगर अस्पताल, डाँछीमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मीहरूले क्षयरोग पूर्ण रूपमा निको हुने रोग भए पनि समयमै परीक्षण, नियमित औषधि सेवन तथा पोषणमा ध्यान नदिँदा समस्या जटिल बन्न सक्ने बताएका थिए। साथै संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सरसफाइका उपायहरूबारे पनि सहभागीहरूलाई अभिमुखीकरण गरिएको थियो।
कार्यक्रममा क्षयरोग बिरामीहरूलाई सन्तुलित आहार, आराम, औषधि नियमित सेवन तथा व्यक्तिगत स्वच्छतामा विशेष ध्यान दिन आग्रह गरिएको थियो। स्थानीय स्तरमै क्षयरोग नियन्त्रणलाई प्रभावकारी बनाउन यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता नगरपालिकाले जनाएको छ।
क्षयरोगमुक्त समाज निर्माणका लागि स्थानीय सरकार, स्वास्थ्यकर्मी तथा नागरिक सबैको सक्रिय सहभागिता आवश्यक रहेको कुरामा कार्यक्रमले जोड दिएको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण महानुभाव तथा सहयोगीहरूलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ।
क्षयरोग विरुद्ध उठौं आज, सचेतनाको बलियो आवाज।
समयमै जाँच, नियमित औषधि — यसैमा लुकेको छ जीतको राज।
पोषण र सफाइ जीवनको ढाल, स्वस्थ समाज हाम्रो लक्ष्य विशाल।
हामी जुटे सम्भव छ पक्कै, क्षयरोगमुक्त बनाउन नेपाल।