साँखु,काठमाडौँ, २६ फागुन ।
शंखरापुर नगरपालिका वडा नं. ७ ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि 'राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम' अन्तर्गत बेरोजगार व्यक्तिहरूको सूचीकरण प्रक्रिया सुरु गरेको छ। ७ नं वडा कार्यालयले एक सूचना जारी गर्दै वडाभित्र रहेका बेरोजगार नागरिकहरूलाई सहभागी हुन आह्वान गरेको हो।
रोजगारीको अवसर खोजिरहेका योग्य व्यक्तिहरूले आगामी २०८२ चैत्र १५ गते भित्र कार्यालय समयमा आवश्यक कागजातसहित बेरोजगार फारम भरिसक्नुपर्नेछ।
आवश्यक कागजातहरू:
आवेदनका लागि इच्छुक व्यक्तिहरूले देहाय बमोजिमका कागजातहरू पेश गर्नुपर्ने सूचनामा उल्लेख छ:
१. निवेदन
२. नागरिकताको प्रतिलिपि
३. पासपोर्ट साइजको फोटो
४. बैंक खाताको विवरण
५. परिवारका सदस्यको नागरिकताको प्रतिलिपि
६. बसाइँसराइ गरी आएको हकमा बसाइँसराइको प्रमाणपत्र
वडा अध्यक्ष विष्णु प्रसाद श्रेष्ठद्वारा हस्ताक्षरित सो सूचनामा तोकिएको समयावधी भित्रै प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ। यस कार्यक्रमले स्थानीय स्तरमा बेरोजगारी समस्या न्यूनीकरण गर्न र लक्षित वर्गलाई सरकारी रोजगार योजनासँग जोड्न मद्दत पुग्ने विश्वास लिइएको छ।