शंखरापुर, काठमाण्डौं। अमेरिकामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम–१६ को सबैभन्दा ठूलो उलटफेरमध्ये एक खेलमा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै इतिहास रचेको छ। न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार सम्पन्न अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धामा स्टार फरवार्ड एर्लिङ हालान्ड ले दोस्रो हाफमा दुई निर्णायक गोल गर्दै नर्वेलाई पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुर्याएका हुन्।
यस नतिजासँगै उपाधिको प्रमुख दाबेदार मानिएको ब्राजिल अप्रत्याशित रूपमा प्रतियोगिताबाट बाहिरिएको छ भने नर्वेले आफ्नो विश्वकप इतिहासकै सबैभन्दा ठूलो सफलता हात पारेको छ। खेलमा अमेरिकी रेफ्री इस्माइल इल्फ्याथ ले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
सुरुआतमै रोमाञ्च, ब्राजिलले गुमायो सुनौलो अवसर
खेलको चौथो मिनेटमै प्याट्रिक बेर्गले नर्वेका लागि गोल गरे पनि भिडियो सहायक रेफ्री (VAR) ले अफसाइड ठहर गर्दै गोल रद्द गरिदियो। त्यसपछि ब्राजिलले अग्रता लिने उत्कृष्ट अवसर पायो। पहिलो हाफमा क्रिस्टोफर अजेरले मातेउस कुन्हामाथि बक्सभित्र फाउल गरेपछि ब्राजिललाई पेनाल्टी प्रदान गरिएको थियो।
तर कप्तान ब्रुनो गुइमारेस को प्रहारलाई नर्वेका गोलरक्षक ओर्जान निल्याण्ड ले उत्कृष्ट बचाउ गरे। त्यसपछि उनले भिनिसिउस जुनियर, गाब्रियल मार्टिनेली तथा अन्य ब्राजिलियन खेलाडीका खतरनाक प्रहारसमेत रोक्दै नर्वेको जितको आधार तयार पारे।
अन्तिम १० मिनेटमा हालान्डको जादु
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा नर्वेले खेलको गति आफ्नो पक्षमा मोड्यो। ७९औँ मिनेटमा एन्ड्रियास स्चेल्डरुपको आकर्षक क्रसलाई एर्लिङ हालान्डले शक्तिशाली हेडमार्फत जाली चुमाउँदै नर्वेलाई अग्रता दिलाए।
निर्धारित समयको ९०औँ मिनेटमा हालान्डले बक्सबाहिरबाट प्रहार गरेको उत्कृष्ट लो–ड्राइभ सट गोलमा परिणत भएपछि नर्वे २–० ले अघि बढ्यो। इन्जुरी समयमा ब्राजिलले पाएको पेनाल्टीलाई नेयमार ले गोलमा परिणत गरे पनि त्यो सान्त्वना गोलमा मात्र सीमित रह्यो।
नेयमारको १६ वर्षे अन्तर्राष्ट्रिय यात्राको अन्त्य
खेलपछि भावुक बनेका ब्राजिलियन सुपरस्टार नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। सन् २०१० मा अमेरिकाविरुद्ध यही मेटलाइफ स्टेडियमबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले सम्भावित अन्तिम अन्तर्राष्ट्रिय खेल पनि त्यही मैदानमा खेल्दै राष्ट्रिय टोलीसँग बिदाइ लिए।
खेलका क्रममा नेयमारले एक पहेंलो कार्ड पाए भने दुवै टोलीका कुनै पनि खेलाडीले रातो कार्ड भने पाएनन्।
सुरुआती टोली
ब्राजिलका लागि एलिसन बेकर, डानिलो, मार्किन्होस, गाब्रियल मगालाएस, डगलस सान्तोस, ब्रुनो गुइमारेस, कासेमिरो, रायन, गाब्रियल मार्टिनेली, भिनिसिउस जुनियर र मातेउस कुन्हा सुरुआती रोजाइमा थिए।
नर्वेको तर्फबाट ओर्जान निल्याण्ड, जुलियन र्यर्सन, क्रिस्टोफर अजेर, टोर्ब्यर्न हेग्गेम, डेभिड मोलर भोल्फे, सान्डेर बेर्गे, मार्टिन ओडेगार्ड, प्याट्रिक बेर्ग, अलेक्जेन्डर सोर्लोथ, एर्लिङ हालान्ड र एन्टोनियो नुसा मैदानमा उत्रिएका थिए।
म्यान अफ द म्याच बने हालान्ड
दुई गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाएका एर्लिङ हालान्ड म्यान अफ द म्याच घोषित भए। ब्राजिलविरुद्धको दुई गोलसँगै उनले जारी विश्वकपमा आफ्नो गोल संख्या सात पुर्याएका छन्। यससँगै उनी लियोनेल मेसी र किलियन एम्बाप्पे सँग गोल्डेन बुटको दौडमा संयुक्त अग्रस्थानमा पुगेका छन्।
हालान्डले नर्वेका लागि हालसम्म ५४ अन्तर्राष्ट्रिय खेलमा ६२ गोल गर्दै आफ्नो कीर्तिमानी गोलयात्रालाई थप मजबुत बनाएका छन्। खेलपछि उनले इन्स्टाग्राममा टोलीसँगको सेल्फी सार्वजनिक गर्दै ऐतिहासिक जितप्रति खुसी व्यक्त गरेका थिए।
उता नर्वेका मुख्य प्रशिक्षकले यस उपलब्धिलाई "नर्वेको फुटबल इतिहासकै सबैभन्दा महान दिन" को संज्ञा दिएका छन्।
ब्राजिलमाथि प्रश्न, नर्वे नयाँ इतिहासतर्फ
उपाधिको प्रमुख दाबेदार मानिएको ब्राजिलले खेलमा अवसर सिर्जना गरे पनि त्यसको सदुपयोग गर्न सकेन। ब्रुनो गुइमारेसको पेनाल्टी चुक्नु, निल्याण्डको उत्कृष्ट गोलकिपिङ र हालान्डको घातक फिनिसिङ ब्राजिलको हारका मुख्य कारण बने। यस हारसँगै मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टी को रणनीति र भविष्यबारे पनि चर्चा सुरु भएको छ।
यता, ऐतिहासिक जित निकालेको नर्वेले अब क्वार्टरफाइनलमा इंग्ल्याण्ड र सह–आयोजक मेक्सिकोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। विश्व फुटबलमा नर्वेको यो जितलाई सन् २०२६ विश्वकपकै सबैभन्दा ठूलो उलटफेरमध्ये एकका रूपमा हेरिएको छ।