साँखु,काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर उल्लेखनीय प्रदर्शन गर्दै धेरै निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। फागुन २३ गते बेलुका ५:४५ बजेसम्म प्राप्त विवरणअनुसार रास्वपाले ठूलो संख्यामा विजय हासिल गर्नुका साथै धेरै क्षेत्रमा स्पष्ट अग्रता बनाएको देखिएको छ।
उपलब्ध तथ्यांकअनुसार रास्वपाले हालसम्म ५५ स्थानमा विजय हासिल गरिसकेको छ भने ६६ क्षेत्रमा अग्रता कायम राखेको छ। यसले यसपटकको निर्वाचनमा रास्वपा प्रमुख शक्तिका रूपमा उदाउने संकेत दिएको विश्लेषण भइरहेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १३ क्षेत्रमा अग्रता लिँदै ८ स्थानमा विजय हासिल गरेको छ। त्यस्तै नेकपा (एमाले) ले ८ क्षेत्रमा अग्रता कायम गर्दै ३ स्थानमा विजय हात पारेको छ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ५ क्षेत्रमा अग्रता कायम गर्दै २ स्थानमा जित निकालेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ स्थानमा विजय हासिल गरेको छ। साथै स्वतन्त्र उम्मेदवारले पनि १ स्थानमा जीत हासिल गर्न सफल भएका छन्।
कडा प्रतिस्पर्धा, बदलिन सक्ने अंकगणित
हाल विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी रहेकाले दलहरूको अग्रता र जितको अंकगणितमा परिवर्तन आउन सक्ने सम्भावना रहेको निर्वाचन पर्यवेक्षकहरूले बताएका छन्। केही क्षेत्रमा दलहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ, जसले अन्तिम परिणामलाई अझ रोचक बनाएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार नयाँ शक्ति रूपमा उदाएको रास्वपाको यस किसिमको प्रदर्शनले आगामी राजनीतिक समीकरणमा समेत प्रभाव पार्ने संकेत गरेको छ।
उल्लेखनीय कुरा के छ भने, यो तथ्यांक फागुन २३ गते बेलुका ५:४५ बजेसम्म सार्वजनिक भएको विवरणमा आधारित हो। बाँकी क्षेत्रहरूको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउँदासम्म दलहरूको अवस्था फेरबदल हुन सक्ने सम्भावना कायमै रहेको छ।