पेनाल्टीको अभिशाप फेरि दोहोरियो : मोरक्कोसँग पराजित हुँदै नेदरल्यान्ड्स विश्वकपबाट बाहिरियो

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं । फिफा विश्वकप २०२६ मा नेदरल्यान्ड्सको विश्वकप इतिहासमा जोडिँदै आएको 'पेनाल्टीको अभिशाप' यसपटक पनि अन्त्य हुन सकेन। मंगलबार बिहान मेक्सिकोको मोन्टेरी रंगशालामा भएको रोमाञ्चक राउन्ड अफ ३२ को खेलमा मोरक्कोसँग पेनाल्टी सुटआउटमा ३–२ ले पराजित हुँदै नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिएको छ।


निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। सुटआउटमा मोरक्कोका अनुभवी गोलकिपर यासिन बोनो नायक बने। उनले महत्त्वपूर्ण बचाउ गर्दै टोलीलाई अन्तिम १६ मा पुर्‍याए।

मोरक्कोका लागि पेनाल्टीमा सौफियान रहिमी, चेम्सडाइन ताल्बी र इस्माइला साइबरी ले गोल गरे। नेइल एल आइनाउइको प्रहार बाहिरिँदा कप्तान असरफ हाकिमीको प्रहार पोस्टमा लागेको थियो। यद्यपि बाँकी खेलाडीले जिम्मेवारी पूरा गरेपछि मोरक्को विजयी बन्न सफल भयो।

नेदरल्यान्ड्सका लागि टिउन कुपमेनर्स र वाउट वेघोर्स्ट ले मात्र गोल गर्न सके। जस्टिन क्लुइभर्टको प्रहार पोस्टमा लागेर फर्कियो, क्विन्टन टिम्बरको प्रहार लक्ष्यभन्दा बाहिर गयो भने क्रेसेन्सियो समरभिलको प्रहार बोनोले उत्कृष्ट रूपमा बचाएका थिए।


यसअघि खेलको ७२औँ मिनेटमा कोडी गाक्पो ले क्रेसेन्सियो समरभिलको पासमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए। तर खेल सकिनै लाग्दा मोरक्कोले पुनरागमन गर्‍यो। इन्जुरी समयको पहिलो मिनेटमा इसा डिओप ले चेम्सडाइन ताल्बीको पासलाई सदुपयोग गर्दै बराबरी गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

सन् २०२२ को विश्वकपमा ऐतिहासिक रूपमा सेमिफाइनल पुगेको मोरक्कोले यसपटक पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब मोरक्कोले क्वार्टरफाइनल प्रवेशका लागि सहआयोजक क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।

उता, नेदरल्यान्ड्सका लागि भने विश्वकपमा पेनाल्टी सुटआउटको निराशाजनक इतिहास फेरि दोहोरिएको छ। टोली यसअघि पनि सन् २०१४ र २०२२ का विश्वकपमा पेनाल्टी सुटआउटमै पराजित हुँदै बाहिरिएको थियो। २०१८ को विश्वकपमा भने नेदरल्यान्ड्स छनोट हुन सकेको थिएन।

विश्व फुटबलमा उत्कृष्ट टोलीका रूपमा चिनिए पनि नेदरल्यान्ड्स अझैसम्म विश्वकपको उपाधिविहीन छ। टोलीले १९७४, १९७८ र २०१० मा फाइनल खेले पनि तीनै पटक उपविजेतामै सीमित रह्यो। साथै २०१४ मा तेस्रो तथा १९९८ मा चौथो स्थान हासिल गरेको थियो। हालसम्म नेदरल्यान्ड्सले १२ वटा विश्वकपमा सहभागिता जनाएको छ।

यससँगै फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा युरोपका दुई शक्तिशाली टोली जर्मनी र नेदरल्यान्ड्स दुवै पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन्। जर्मनी पाराग्वेसँग तथा नेदरल्यान्ड्स मोरक्कोसँग पराजित भएपछि विश्वकपको नकआउट चरण थप रोमाञ्चक र अप्रत्याशित बनेको छ।

प्रतिक्रिया