फोनको सामान्य विवादले ज्यान गयो : पाटनमा नेम्वाङ दाजुभाइको हत्या

lawanyasandesh.com

साँखु,काठमाडौं — ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार गरी दुई दाजुभाइको हत्या गर्ने मुख्य अभियुक्त सञ्जीव नेपालीमा ‘साइकोसिस’ नामक मानसिक समस्या देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। हिरासतमा राखिएपछि पनि उनले अस्वाभाविक व्यवहार देखाइरहेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटीका अनुसार सोधपुछका क्रममा सञ्जीवको हाउभाउ र व्यवहार मानसिक रूपमा अस्थिर देखिएको छ। स्थानीयका अनुसार उनले यसअघि पनि स–साना विवादमा खुँडा लिएर व्यक्तिमाथि आक्रमण गर्ने गरेका थिए। “उ पहिलेदेखि रिसाहा स्वभावको थियो, स–साना विवादमै खुँडा लिएर जाइलाग्थ्यो। घटनापछि भाग्दै गर्दा तीन मिनेटमै प्रहरी पुगेको थियो, एक महिला प्रहरी कर्मचारीले लखेटेर समात्न सफल भइन्,” बोगटीले भने।
घटनामा संलग्न सञ्जीव नेपाली र नवलपरासी गैँडाकोटका गगन सुनारलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।
‘रङ नम्बर’बाट सुरु भयो विवाद
प्रहरीका अनुसार पाको कमल गाउँपालिका–६ घर भएका ३३ वर्षीय सुमित नेम्वाङ र २६ वर्षीय सिर्जन नेम्वाङ ललितपुरको इमाडोलमा बस्दै आएका थिए। दाइ सुमितले एक व्यक्तिलाई फोन गर्दा ‘रङ नम्बर’ भएर सञ्जीव नेपालीको मोबाइलमा पुगेको थियो। फोनमै भनाभन र गालीगलौज भएपछि सञ्जीवले “भेट, देखाउँछु” भन्दै धम्की दिएका थिए।
त्यतिबेला नेम्वाङ दाजुभाइ मंगलबजार क्षेत्रमा घुमिरहेका थिए। विवाद समाधान गर्ने उद्देश्यले उनीहरूले आफ्नो स्थान बताएका थिए। तर मासु व्यवसायी सञ्जीव पसलबाट धारिलो ‘दाउ’ लिएर घटनास्थल पुगेका थिए।
प्रहरीका अनुसार भेट्नेबित्तिकै विवाद चर्कियो र सञ्जीवले सुमितको घाँटीमा प्रहार गरे। दाइलाई बचाउन गएका भाइ सिर्जनमाथि पनि पेट, छाती र घाँटीमा लगातार प्रहार गरिएको थियो। स्थानीयको सूचनापछि पुगेको प्रहरीले भाग्दै गरेका सञ्जीव र सहयोगी गगनलाई हतियारसहित पक्राउ गरेको थियो। पक्राउ गर्दा सञ्जीवले प्रहरीमाथि पनि आक्रमण गर्ने प्रयास गरेको बताइएको छ।
गम्भीर घाइते दुवैलाई उपचारका लागि ललितपुरस्थित बीएण्डबी अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नेम्वाङ दाजुभाइ बेलायत जाने तयारीमा थिए र टिकटसमेत लिइसकेका थिए। सामान्य फोन विवादले ज्यान जाने अवस्था सिर्जना भएको भन्दै प्रहरीले आवेग नियन्त्रणमा राख्न तथा अपरिचित व्यक्तिसँग विवाद नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
घटनामा प्रयोग भएको धारिलो दाउ, छुरा, फलामे नक र स्कुटर बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया