शंखरापुर, काठमाडौँ — कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले सार्वजनिक सम्पत्तिलाई कुनै पनि बहानामा आक्रमण वा क्षतिको निसाना बनाउन नहुने बताउनुभएको छ।
जेन्जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त कागेश्वरी मनोहरा–७ स्थित काँडाघारी प्रहरी प्रभागको पुनर्निर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले नागरिकको श्रम, पसिना र सहयोगबाट निर्माण भएका सार्वजनिक तथा सुरक्षा संरचनाको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो।
स्थानीय नागरिक, नगरपालिका तथा विभिन्न संघसंस्थाको आर्थिक, भौतिक सहयोग र श्रमदानबाट प्रहरी प्रभागको भवन पुनर्निर्माण गरिएको हो। पुनर्निर्माणका क्रममा नगदतर्फ १८ लाख ३३ हजार ६९८ रुपैयाँ तथा जिन्सी एवं निर्माण सामग्रीतर्फ ५७ लाख ७१ हजार ९७७ रुपैयाँ बराबरको सहयोग तथा खर्च भएको समितिले जनाएको छ।
नगरप्रमुख कार्कीले दिनरात नागरिकको सुरक्षा र सेवामा खटिने प्रहरीका लागि सुविधासम्पन्न कार्यस्थल आवश्यक रहेको बताउँदै स्थानीयको श्रमदान र नगरपालिकाको पहलबाट भवन पुनर्निर्माण सम्भव भएको उल्लेख गर्नुभयो।
उहाँले नगर क्षेत्रको शान्ति–सुरक्षा थप प्रभावकारी बनाउन कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं. १ देखि ९ सम्म एआई प्रविधियुक्त सीसीटीभी जडानका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो। सीसीटीभी सञ्चालनमा आएपछि नगर क्षेत्रका चोरी, डकैतीलगायत आपराधिक गतिविधिको २४ घण्टा निगरानी गर्न सकिने उहाँले बताउनुभयो।
आवश्यकताअनुसार प्रहरी कन्ट्रोल रुमबाटै सीसीटीभीको प्रत्यक्ष अनुगमन गर्ने व्यवस्था मिलाउन सकिने उल्लेख गर्दै नगरप्रमुख कार्कीले आयोजना प्रभावकारी कार्यान्वयनका लागि नेपाल प्रहरीको प्राविधिक सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो।
स्थानीय नागरिकको आर्थिक सहयोग, भौतिक योगदान र श्रमदानबाट पुनर्निर्मित काँडाघारी प्रहरी प्रभागको भवन समुदाय र प्रहरीबीचको सहकार्यको उदाहरण बनेको छ। नयाँ भवनबाट नागरिकलाई सुरक्षा सेवा प्रवाह थप सहज, व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।