ओली–लेखकलाई आज अदालत उपस्थित गराइने, स्वास्थ्य समस्या देखिएपछि ओली अस्पतालमा

lawanyasandesh.com

साँखु,काठमाडौं। शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक लाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको छ। प्रहरीले जरुरी पुर्जी थमाएर उनीहरूलाई नियन्त्रणमा लिएको र कानुनी प्रावधानअनुसार २४ घन्टाभित्र अदालतमा पेश गर्न लागिएको हो।
प्रहरीका अनुसार गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो। उक्त घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा ओली र लेखकलाई दोषी ठहर गर्दै तीनदेखि १० वर्षसम्म कैद सजायको सिफारिस गरेको थियो। आयोगको यही सिफारिसका आधारमा प्रहरीले शनिबार बिहान दुबै नेतालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेपछि अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या देखिएको भन्दै उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको स्रोतले जनाएको छ। यता पूर्वगृहमन्त्री लेखकलाई भने प्रहरीको दुई नम्बर गणमा राखिएको छ।
प्रहरीले अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने तयारी गरेको बताइएको छ। घटनालाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका छन् भने समर्थक र विपक्षीबीच बहस पनि चर्किएको छ।
सरकार पक्षले यो कदम कानुनअनुसार भएको दाबी गरेको छ भने विपक्षी दलहरूले राजनीतिक प्रतिशोधको आशंका व्यक्त गरेका छन्। अदालतले आजको उपस्थितिपछि म्याद थप, थुनछेक वा अन्य आदेश दिने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया