पराजयबाट आत्तिन्नँ, केही समय लिएर पार्टी शुद्धीकरणमा लाग्छु :गगन थापा

lawanyasandesh.com

साँखु, काठमाण्डौं । Nepali Congress का सभापति गगन थापाले चुनावी पराजयबाट आफू नआत्तिने बताएका छन्। मधेस प्रदेशको जनकपुरधाममा बुधबार आयोजित चुनावी समीक्षामा बोल्दै उनले केही समय लिएर पार्टीभित्र शुद्धीकरण अभियान अघि बढाउने बताएका हुन्।
“म नेपाली कांग्रेसको कार्यकर्ता हुँ, एउटा चुनावको जित वा हारबाट डराउने होइन,” उनले भने, “मैले केही समय लिन खोजेको हो। धेरै कुरा सुन्नुपर्ने रहेछ, नयाँ कुरा सिक्नुपर्ने रहेछ। दौडेर मात्र हुँदैन, तयारी पनि गर्नुपर्छ।”
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट पराजित भएपछि उनी ‘मौन’ बसेको चर्चा चलिरहेका बेला थापाले त्यसको स्पष्टीकरण दिएका हुन्। उनले अब संगठन सुदृढीकरण र कार्यकर्ता शुद्धीकरणमा ध्यान केन्द्रित गरिने बताए।
थापाले केन्द्रीय समितिबाट सबैको क्रियाशील सदस्यता खारेज गरिएको र वैशाखदेखि पुनः नवीकरण तथा वितरण प्रक्रिया सुरु हुने जानकारी दिए। “अहिले क्रियाशील सदस्यता छैन, वैशाखदेखि नयाँ रूपमा नवीकरण हुन्छ,” उनले भने।
उनले वैशाख १ गते काठमाडौं महानगरपालिका–३० को कार्यसमितिबाट आफ्नै क्रियाशील सदस्यता नवीकरण गर्ने पनि बताए। अब संख्या होइन, गुणस्तरीय र प्रतिबद्ध कार्यकर्तामा जोड दिने नीति पार्टीले लिने उनको भनाइ छ।
“१० लाख निष्क्रिय सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए पनि संगठन चलायमान हुन्छ,” उनले भने, “पार्टीलाई अनुशासित, नीतिमा आधारित र जनतासँग नजिक बनाउने दिशामा अघि बढ्छौँ।”
थापाका अनुसार पार्टीलाई एकताबद्ध बनाउँदै देशभर नयाँ ऊर्जा सिर्जना गर्ने र जनविश्वास पुनः जित्ने अभियान अघि बढाइनेछ। 

प्रतिक्रिया