शंखरापुर,काठमाण्डौं।— वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएका मुगु, सोरु गाउँपालिका–१, जवलधाराका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा भएको लामो छलफलपछि सहमति जुटेसँगै पीडित पक्षले शव बुझ्न तयार भएको जनाएको छ।
असार २६ गते उपचारका क्रममा निधन भएका नेपालीको मृत्यु विषयमा केही दिनदेखि जारी विवाद र तनावपूर्ण अवस्था सहमतिपछि साम्य भएको हो। सहमतिमा राहत, रोजगारी, शिक्षा, स्वास्थ्य सुरक्षा तथा घटनाको निष्पक्ष छानबिनका विषय समेटिएका छन्।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं तथा पीडित परिवारका प्रतिनिधिहरूको उपस्थितिमा सहमति भएको हो। नेपाल सरकार र महानगरपालिकाले स्वर्गीय गणेश नेपालीप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
सहमतिका मुख्य बुँदा
सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिले गठन भएको सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नुपर्नेछ।
स्वर्गीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदनका आधारमा नेपाल सरकारले आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ।
घटनाका दिन फिल्डमा अग्रभागमा खटिएका काठमाडौँ महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीहरूलाई छानबिन समितिको प्रतिवेदन तथा सिफारिसका आधारमा हाललाई निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरपालिकालाई लेखी पठाउनेछ।
मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा काठमाडौँ महानगरपालिकामा रोजगारी सुनिश्चित गरिनेछ। साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने व्यवस्था गरिनेछ। यस कार्यमा नेपाल सरकारका सम्बन्धित निकायहरूले आवश्यक समन्वय