शंखरापुर, काठमाण्डौं
साँखु जेसीजले ‘जेसीज सप्ताह–२०२६’ अन्तर्गत सेयर बजार सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। ‘प्रोजेक्ट संकल्प–२०२६’ तथा जेसीआई नेपालको सहकार्यमा “सेयर बजारमा लगानी कसरी गर्ने : सुरूवातीका लागि सरल र व्यवहारिक मार्गदर्शन” विषयक प्रशिक्षण कार्यक्रम आगामी असार २७ गते शनिबार आयोजना हुन लागेको हो।
साँखु जेसीजका अनुसार कार्यक्रम बिहान ११ बजे शंखरापुर–८ स्थित बज्रयोगिनी रिसोर्टमा सञ्चालन हुनेछ। सेयर बजारमा नयाँ प्रवेश गर्न चाहने तथा प्रारम्भिक चरणका लगानीकर्तालाई आधारभूत ज्ञान, लगानीका अवसर, जोखिम व्यवस्थापन तथा व्यवहारिक पक्षबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।
कार्यक्रमका मुख्य प्रशिक्षकका रूपमा सेयर बजारका प्रशिक्षक रोशन चिकबन्जार रहनेछन्। उनले सेयर बजारमा लगानी गर्ने आधारभूत प्रक्रिया, बजारको प्रकृति, जोखिम तथा अवसर, लगानी गर्दा अपनाउनुपर्ने सावधानी र दीर्घकालीन लगानी रणनीतिबारे सहभागीलाई व्यवहारिक प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ।
साँखु जेसिजका बर्ष २०२६ का अध्यक्ष आशिष्अ पुखुसिका अनुसार “आर्थिक न्यायको सर्वोत्तम उपलब्धि स्वतन्त्र मनुष्यको व्यवसायिक स्वतन्त्रताद्वारा हुन सक्छ” भन्ने मूल मान्यतालाई आत्मसात् गर्दै युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा जिम्मेवार लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
कार्यक्रमलाई सफल बनाउन साँखु जेसीजका अध्यक्ष जेसी आशिष पुखुसीको नेतृत्वमा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सक्रिय रहेका छन्। कार्यक्रमको मुल संयोजक कार्यकारिणी उपाध्यक्ष जेसी रोनन सिं तथा कार्यक्रम संयोजक जेसी प्रुतिका नापित रहेका छन्।
साँखु जेसीजले सेयर बजारमा रुचि राख्ने स्थानीय युवा, विद्यार्थी, उद्यमी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई लगानी सम्बन्धी व्यवहारिक ज्ञान हासिल गर्न आग्रह गरेको छ। वित्तीय सचेतना अभिवृद्धि तथा युवालाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम शंखरापुर क्षेत्रमा सेयर बजार सम्बन्धी ज्ञान विस्तारका लागि महत्त्वपूर्ण अवसर हुने विश्वास आयोजकले व्यक्त गरेको छ।