शंखरापुर,काठमाण्डौं — नेपालभाषा साहित्य, संस्कृति र सिर्जनाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिका–२२ को आयोजनामा ‘नेपालभाषा कविता कन्सर्ट’ सम्पन्न भएको छ। कविता कोलाजको संयोजनमा नेपाल संवत् ११४६ गुंलाथ्व १० अर्थात् विसं २०८३ भदौ ६ गते शनिबार धर्मपथस्थित नेवा: सांस्कृतिक छेँमा कविता कन्सर्ट आयोजना गरिएको हो।।
काठमाडौं महानगरपालिका–२२ का वडा अध्यक्ष चिनी काजी महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालभाषा अभियन्ता,नेपालभाषा एकेडेमीका चान्सलर उपन्यासकार तथा साहित्यिक बिधामा उपन्यासकार प्राज्ञ मल्ल के. सुन्दर प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ तथा कवयत्री प्रतिसरा साय्मीको विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रम कविता कोलाजका अध्यक्ष रजनीमिलाको संयोजनमा सम्पन्न भएको थियो, कार्यक्रम सञ्चालन सञ्जयराज शर्माले गर्नुभएको थियो।
कार्यक्रमको आरम्भ दिवंगत कवि, गीतकार तथा भाषा अभियन्ता दुर्गालाल श्रेष्ठ, कवि नारायणदेवी श्रेष्ठ र कवि–पत्रकार सुरेश किरणप्रति श्रद्धासुमन अर्पण गर्दै गरिएको थियो। उहाँहरूको स्मृतिमा एक मिनेट मौनधारण गरिनुका साथै शोकधून बजाएर भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
कार्यक्रममा दिवंगत स्रष्टाहरू गिरीजाप्रसाद जोशी, पूर्ण वैद्य, बुद्ध सायमी र सुन्दर मधिकर्मीलगायतका साहित्यिक सिर्जनासमेत वाचन गरी नेपाली तथा नेपालभाषा साहित्यमा उहाँहरूले पुर्याएको योगदानको स्मरण गरिएको थियो।
कार्यक्रममा नेपालभाषाका विभिन्न पुस्ताका स्रष्टाले आफ्ना सिर्जना वाचन गर्दै भाषा, साहित्य, समाज र संस्कृतिका विविध पक्षलाई कवितामार्फत प्रस्तुत गर्नुभएको थियो। कविता कन्सर्टमा लुमन्ती चित्रकारले ‘इतिहासया मत’, रत्न प्रदीपले ‘ब्याँचुलि’, ज्ञानकेशरी श्रेष्ठले ‘विडम्बना’, मिमला शर्माले ‘छँ पियाच्वना’, नवीन प्रकाश श्रेष्ठले ‘छँ व दे’ र दियश रत्न शाक्यले ‘पुलुकिसि’ शीर्षकका कविता प्रस्तुत गर्नुभएको थियो।
त्यस्तै रश्मी नापितले ‘जिगु थःगु सर्गः’, राज अक्षोभ्यले ‘च्याना च्वंगु सर्ग जिगु’, श्रीराम श्रेष्ठले ‘छम्ह महा फताह जि’, सविना महर्जनले ‘थःगु तुति मालाच्वंगु छपा लाकां’ तथा प्राज्ञ प्रतिसरा सायमीले ‘लुसि’ शीर्षकको कविता वाचन गर्नुभएको थियो।
कार्यक्रममा प्राज्ञ डा. पुष्पराज राजकर्णिकार, दिलकुमारी डंगोल, विशेष आमन्त्रित कवि उज्ज्वला महर्जन, स्नेह सायमी, सञ्जयराज शर्मा, रजनीमिला, समाश्री, सुधीर ख्वबि र नारद बज्राचार्यलगायत स्रष्टाले समेत आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो। उज्ज्वला महर्जनले ‘द मोनोलग’, स्नेह सायमीले ‘आइ लभ यु’, रजनीमिलाले ‘जः नाप मनूया सम्बन्ध’ तथा नारद बज्राचार्यले ‘भविष्यवाणी’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो।
मातृभाषाप्रतिको प्रेम अझ प्रगाढ भयो : अध्यक्ष महर्जन
कार्यक्रमका अध्यक्ष एवं काठमाडौं महानगरपालिका–२२ का वडा अध्यक्ष चिनी काजी महर्जनले आफू कवि नभए पनि सर्जक तथा साहित्यकारलाई माया र सम्मान गर्ने व्यक्ति भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “म कवि त होइन तर सर्जक साहित्यकारहरूलाई माया गर्ने र बुझ्ने मान्छे चाहिँ पक्का हो।”
आफ्नो मातृभाषाप्रतिको प्रेम र सम्मानसँग जोडिएको विगत स्मरण गर्दै अध्यक्ष महर्जनले विसं २०४४ सालमा न्हुँ दया भिन्तुना कार्यक्रममा सहभागी हुँदा प्रहरीले लाठी प्रहार गर्दा आफ्नो टाउकोमा चोट लागेर रगतसमेत आएको घटना स्मरण गर्नुभयो। उक्त घटनापछि आफ्नो मातृभाषाप्रतिको माया र सम्मान अझ प्रगाढ भएको उहाँले बताउनुभयो।
“म रहेसम्म निरन्तर नेवा: साहित्यलाई माया र संरक्षण गर्नेछु,” उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
धर्मपथमै ७५ वर्षअघि साहित्यिक गोष्ठीको सुरुआत : मल्ल
कार्यक्रमका प्रमुख अतिथि नेपालभाषा अभियन्ता तथा साहित्यकार मल्ल के. सुन्दरले धर्मपथ क्षेत्रमा आजभन्दा करिब ७५ वर्षअघि नै यस्ता साहित्यिक गोष्ठीको सुरुआत भएको स्मरण गर्नुभयो।
उहाँले साहित्यको विकाससँगै लेखनशैलीमा पनि समयअनुसार परिवर्तन र नयाँ प्रभाव भित्रिँदै गएको बताउनुभयो। इतिहासमा साहित्य कसरी, कहाँ र कुन परिवेशबाट प्रभावित हुँदै लेखिँदै आयो भन्ने विषयमा उहाँले महत्वपूर्ण जानकारी प्रस्तुत गर्नुभएको थियो।
नेपालभाषा साहित्यको विकासक्रममा समय, समाज र परिवेशले पारेको प्रभावलाई बुझ्न यस्ता साहित्यिक गतिविधि महत्वपूर्ण हुने उहाँको भनाइ थियो।
कविता कन्सर्टमा नेपालभाषाका विविध भाव, विषय तथा सामाजिक–सांस्कृतिक पक्ष कविताका माध्यमबाट प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, साहित्यकार, संस्कृतिकर्मी तथा नेपालभाषाप्रेमीको उल्लेख्य सहभागिता रहेको थियो।
सहभागीले मातृभाषामा सिर्जना गर्ने, साहित्यिक कृतिको वाचन गर्ने तथा नयाँ पुस्तामा नेपालभाषाप्रतिको आकर्षण बढाउने यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो।
जनकवि दुर्गालालप्रति सामूहिक श्रद्धाञ्जली
कार्यक्रमको अन्त्यमा सहभागी सबै कविले नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठप्रति आफ्ना कवितामार्फत सामूहिक श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।
नेपालभाषा साहित्यका क्षेत्रमा जनकवि श्रेष्ठले पुर्याउनुभएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धा व्यक्त गरिएको हो। कविता कन्सर्टलाई साहित्यिक प्रस्तुति मात्र नभई पुस्ताबीच सिर्जना र अनुभूतिको सेतुका रूपमा समेत लिइएको आयोजकले जनाएको छ।
नेपालभाषा साहित्य र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणसँगै नयाँ पुस्तालाई मातृभाषामा सिर्जनाका लागि प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको कविता कन्सर्टले नेपालभाषाको साहित्यिक यात्रामा नयाँ पुस्ताको सहभागिता र सिर्जनशीलतालाई थप प्रोत्साहन गरेको आयोजकको भनाइ छ।