साँखु,काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले कृषि क्षेत्रमा उच्च मूल्यका उत्पादनमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सिताके च्याउ उत्पादन तथा प्रवर्द्धन कार्यक्रमलाई तीव्रता दिएको छ। नगरपालिकाले डाँछी–सिम्खडा क्षेत्रमा तालिम केन्द्र सञ्चालनमा ल्याउँदै महिला, युवा तथा कृषक समूहलाई व्यावसायिक उत्पादनतर्फ उन्मुख गराउने अभियान अघि बढाएको हो।
नगरप्रमुख उपेन्द्र कार्कीका अनुसार नगरपालिकाले दीर्घकालीन नीति, योजना र कार्यक्रममार्फत “हाई भ्यालु” तथा अर्गानिक उत्पादनका रूपमा चिनिने सिताके च्याउको व्यावसायिक उत्पादन विस्तार गर्ने लक्ष्य लिएको छ। “स्थानीय महिला दिदीबहिनी, किसान समूह, युवा र सहकारी संस्थालाई उत्पादनमा जोडेर आत्मनिर्भरता र आयआर्जन वृद्धि गर्नु हाम्रो मुख्य उद्देश्य हो,” उनले बताए।
यसअघि नगरपालिकाको सहयोगमा पाँच सहकारी संस्थाले गत वर्षदेखि सिताके च्याउ उत्पादन सुरु गरिसकेका छन्। चालु वर्षमा थप सात समूह—दुई महिला समूह र विभिन्न सहकारी—तालिममा सहभागी भई उत्पादनमा प्रत्यक्ष रूपमा जोडिँदै छन्। यसले कार्यक्रमप्रति स्थानीय तहमा बढ्दो आकर्षण देखिएको नगरपालिकाको भनाइ छ।
तालिम केन्द्रमार्फत नियमित रूपमा उत्पादन प्रविधि, व्यवस्थापन, बजार पहुँच र गुणस्तर नियन्त्रणसम्बन्धी सीप हस्तान्तरण गरिनेछ। नगरपालिकाले प्राविधिक सहयोगसँगै सम्भव भएसम्म आर्थिक सहजीकरणसमेत गर्ने प्रतिबद्धता जनाएको छ।
नगरप्रमुख कार्कीले सिताके च्याउको अन्तर्राष्ट्रिय तथा आन्तरिक बजारमा उच्च माग रहेको उल्लेख गर्दै यसलाई आयआर्जनको भरपर्दो माध्यमका रूपमा लिन आग्रह गरे। “उत्पादन बढाऔं, स्वास्थ्यप्रद अर्गानिक खाद्य प्रवर्द्धन गरौं र स्थानीय अर्थतन्त्र सुदृढ बनाऔं,” उनको अपिल छ।
यसैबीच नगरपालिकाले कार्यक्रम विस्तारका लागि कृषक समूह, सहकारी, लघुवित्त संस्था तथा महिला समूहहरूबाट आवेदन आह्वान गरेको छ। इच्छुकले सहकारी तथा उद्यमशीलता शाखामा सम्पर्क गरी आवेदन दिन सक्ने जनाइएको छ।
स्थानीय तहको सक्रियतामा अघि बढाइएको यो अभियानले कृषि उद्यमशीलता विकास, आयआर्जन वृद्धि तथा बेरोजगारी न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।