साँखु,काठमाण्डौं।आफूलाई राष्ट्रिय अनुसन्धान विभागको प्रहरी अधिकारी भनेर परिचय दिँदै एक व्यक्तिलाई अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका वडा नं. ३ घर भएका ५३ वर्षीय दीपक खड्का रहेका छन्। प्रहरीले जनाएको छ कि गत माघ २८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ बस्ने ४७ वर्षीय पूर्ण बहादुर थापाको घरमा पुगेका खड्काले आफू ‘अनुसन्धान विभागको प्रहरी’ भएको भनी परिचय दिएका थिए।
खड्काले थापालाई होटलमा पुर्याई डर, धाक र धम्की देखाएर अपहरण तथा शरीर बन्धक बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
फरार रहेका खड्कालाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले काठमाडौं महानगरपालिका-८, गौशाला क्षेत्रबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका खड्कामाथि जिल्ला प्रहरी परिसर भक्तपुरले ‘अपहरण तथा शरीर बन्धक’ कसुर अन्तर्गत मुद्दा दर्ता गरेको छ। प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले अदालतबाट म्याद थप गरी उनीमाथि विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्रहरीले यस घटनापछि सर्वसाधारणलाई सचेत रहन र शंका लाग्ने कुनै पनि व्यक्तिको गतिविधिबारे तुरुन्त जानकारी गराउन अनुरोध गरेको छ।