कालिञ्चोक दर्शनबाट फर्किने क्रममा कार दुर्घटना, शंखरापुरका बालबालिकासहित ७ जना घाइते

lawanyasandesh.com

शंखरापुर,काठमान्डौं।कालिञ्चोक मन्दिर दर्शन गरी फर्किने क्रममा भएको सवारी दुर्घटनामा काठमाण्डौंको शंखरापुर नगरपालिकाका बालबालिकासहित सात जना घाइते भएका छन्। भीमेश्वर नगरपालिका–६ अन्तर्गत चरिकोट–कालिञ्चोक सडकखण्डमा आइतबार अपराह्न भएको दुर्घटनामा घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार कालिञ्चोकबाट चरिकोटतर्फ आउँदै गरेको बा १५ च १४९२ नम्बरको कार अपराह्न करिब २ः३० बजे ब्रेक फेल भई अनियन्त्रित बनेपछि सडकबाट करिब १३ मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा शंखरापुर नगरपालिका–३ निवासी २९ वर्षीय चालक निरज तामाङ, शंखरापुर–२ निवासी ६८ वर्षीय सतन नासुर, ५५ वर्षीया राधी नासुर, २२ वर्षीया अनिता नासुर, १२ वर्षीय सुजन नासुर, ८ वर्षीय सुजित नासुर तथा २२ वर्षीया सुनिता तामाङ घाइते भएका छन्।


प्रहरीका अनुसार घाइतेमध्ये सतन नासुरको अनुहारमा गम्भीर चोट लागेको छ भने अनिता नासुरको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। त्यसैगरी १२ वर्षीय सुजन नासुरको दुवै हात, खुट्टा तथा छातीमा चोट लाग्नुका साथै फ्र्याक्चर भएको छ। ८ वर्षीय सुजित नासुरको बाँया खुट्टामा समेत फ्र्याक्चर भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ।


दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला ट्राफिक प्रहरी कार्यालय र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको थियो। उद्धार टोलीले घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि चरिकोटस्थित छोरोल्पा अस्पताल पठाएको थियो। अस्पताल स्रोतका अनुसार सबै घाइतेहरूको उपचार भइरहेको छ र उनीहरूको स्वास्थ्य अवस्थामाथि चिकित्सकहरूको निगरानी जारी छ।


कालिञ्चोक क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त लोकप्रिय गन्तव्य मानिन्छ। विशेष गरी बिदा तथा पर्वका समयमा ठूलो संख्यामा आन्तरिक पर्यटकहरू दर्शनका लागि पुग्ने गरेका छन्। उकालो, घुमाउरा र साँघुरा सडकका कारण यस क्षेत्रमा सवारी साधन सञ्चालन गर्दा विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता रहेको सरोकारवालाहरूले बताउँदै आएका छन्।

प्रहरीले दुर्घटनाको कारण ब्रेक फेल भएको प्रारम्भिक अनुमान गरे पनि घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ। दुर्घटनाग्रस्त कारलाई नियन्त्रणमा लिइएको छ भने चालकसहित घटनासम्बन्धी थप विवरण संकलन भइरहेको दोलखा प्रहरीले जनाएको छ।

स्थानीयवासी तथा सुरक्षाकर्मीको सक्रियताका कारण समयमै उद्धार कार्य सम्पन्न भएकाले थप मानवीय क्षति हुन नपाएको बताइएको छ। दुर्घटनाले कालिञ्चोक भ्रमणबाट फर्किरहेका यात्रुहरूमा त्रास सिर्जना गरेको छ भने सडक सुरक्षाप्रति पुनः ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया