उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग

lawanyasandesh.com

शंखरापुर, काठमाडौं — रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपियाँ आर्थिक सहयोग गरेको छ।

कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा सोमबार गएको टोलीले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।

चेक हस्तान्तरण कार्यक्रममा महामन्त्री पौडेलसँगै पार्टी कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे तथा रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायतको सहभागिता थियो।

गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। बाढीपहिरोका कारण कैयौँ परिवार विस्थापित हुनुका साथै सडक, पुल, विद्युत्, सञ्चारलगायतका भौतिक पूर्वाधारमा व्यापक क्षति पुगेको छ।

महामन्त्री पौडेलले विपद्को समयमा प्रभावित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार तथा सुरक्षित बासस्थानको व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले पार्टीका तर्फबाट उद्धार कोषमा रकम उपलब्ध गराइएको बताउनुभयो।

रकम हस्तान्तरणपछि उहाँले संकटको यस घडीमा नेपाली कांग्रेस बाढीपीडित नागरिकको साथमा रहेको बताउँदै राहत, उद्धार तथा पुनःस्थापनाका काममा सरकारलाई आवश्यक सहयोग गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

उद्धारमा ढिलाइप्रति चिन्ता

महामन्त्री पौडेलले बाढीपहिरोका कारण सुरुङमार्गलगायत विभिन्न स्थानमा फसेका तथा सम्पर्कविहीन नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै उद्धार कार्यलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।

“सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धार कार्यमा जुन ढिलासुस्ती देखिएको छ, यसलाई तत्काल सच्याएर उद्धारलाई तीव्रता दिन म सरकारसँग आग्रह गर्दछु,” उहाँले भन्नुभयो।

उहाँले त्रिशूली र भोटेकोशी नदी आसपासका प्रभावित नागरिकको शीघ्र उद्धार तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो।

राहत वितरणमा पारदर्शिता कायम गर्न तथा आगामी दिनको समग्र विपद् व्यवस्थापन प्रणालीलाई थप चुस्त, प्रभावकारी र जवाफदेही बनाउनुपर्नेमा समेत उहाँले जोड दिनुभयो।

महामन्त्री पौडेलले विपद् व्यवस्थापन, बेपत्ताको खोजी तथा विस्थापित नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि सरकारले आवश्यक ठानेका हरेक सहयोगमा नेपाली कांग्रेस साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया