भित्री शहरका १० वडामा स्रोतमै फोहोर वर्गीकरण सुरु, बञ्चरेडाँडामा जाने फोहोर घट्दै

lawanyasandesh.com

साँखु, काठमाडौं । काठमाडौं महानगरपालिका ले दिगो फोहोर व्यवस्थापनको लक्ष्यसहित भित्री सहरका १० वटा वडामा स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने अभियानलाई तीव्रता दिएको छ। यस कदमबाट बञ्चरेडाँडा ल्यान्डफिल साइट मा पुग्ने फोहोरको परिमाण घटाउने र सहरलाई स्वच्छ बनाउने लक्ष्य राखिएको महानगरले जनाएको छ।



महानगरका अनुसार वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ मा स्रोतमै फोहोर वर्गीकरण गरी संकलन सुरु गरिएको छ। यी वडाहरू काठमाडौंको भित्री सहर क्षेत्रअन्तर्गत पर्ने भएकाले यहाँको फोहोर व्यवस्थापन महानगर आफैले गर्दै आएको छ।
वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन का अनुसार फोहोर संकलनलाई व्यवस्थित बनाउन एउटै गाडीमा तीनवटा खण्ड बनाएर कुहिने, नकुहिने र बिक्रीयोग्य फोहोर छुट्टाछुट्टै राखेर संकलन गर्ने व्यवस्था गरिएको छ।
उनका अनुसार यस प्रणालीले फोहोरको परिमाण घटाउनुका साथै व्यवस्थापनलाई पनि सहज बनाएको छ। साथै वर्गीकरण गरिएको बिक्रीयोग्य फोहोर बिक्री गर्दा महानगरको आम्दानीमा समेत योगदान पुग्न थालेको छ।
फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन महानगरले ३२ वटै वडालाई ७ वटा क्षेत्रमा विभाजन गरी निजी क्षेत्रसँग सहकार्यमा व्यवस्थापन प्रक्रिया अघि बढाएको छ। भित्री सहरका १० वडालाई समेटिएको क्षेत्र नम्बर ७ को फोहोर व्यवस्थापनका लागि महानगरले ग्लोरियस मल्टीपर्पोज एन्ड सप्लाइज सँग २०८१ फागुन २६ गते सम्झौता गरेको थियो।
महानगरका अनुसार यस क्षेत्रबाट वार्षिक करिब ७० लाख रुपैयाँ आम्दानी भइरहेको छ भने दैनिक करिब ३.१९ टन फोहोर स्रोतमै घटाउन सफल भएको छ।
फोहोरमैला व्यवस्थापन संघ का महासचिव मित्र घिमिरे का अनुसार महानगर र निजी क्षेत्रको सहकार्यमा भइरहेको वर्गीकरण अभियानपछि ल्यान्डफिल साइटमा पुग्ने फोहोरको मात्रा उल्लेख्य रूपमा घटेको छ। उनका अनुसार हाल काठमाडौंमा दैनिक करिब ९०० टन फोहोर उत्सर्जन हुने गरेको छ।
त्यसमध्ये करिब १०० टन प्लास्टिकजन्य फोहोर ह्वासिन सिमेन्ट उद्योग मा पठाइने गरिएको छ भने करिब २०० टन फोहोर वर्गीकरण गरी बिक्री गरिने गरिएको उनले जानकारी दिए।
हाल नुवाकोट र धादिङको सीमाक्षेत्रमा रहेको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौंबाट दैनिक करिब ५५० टन फोहोर मात्र पुग्ने गरेको छ। काठमाडौं महानगरपालिका बाहेक उपत्यकाका अन्य स्थानीय तहबाट पनि त्यति नै हाराहारी फोहोर सोही स्थानमा व्यवस्थापन हुँदै आएको छ।
महानगरले हरेक क्षेत्रमा ‘मटेरियल रिकभरी फ्यासिलिटी’ (MRF) स्थापना गरेर सुख्खा फोहोर पुनः प्रयोग गर्ने तथा बाँकी मात्र विसर्जन गर्ने योजना अघि बढाएको जनाएको छ। यसअनुसार विभिन्न क्षेत्रका लागि अलग–अलग कम्पनीहरू छनोट गरिएका छन्।
क्षेत्र नम्बर १ मा वडा २, ३, ४, ५ र ७ पर्ने गरी नेप्सेम्याक सेवा प्रालि छनोट भएको छ, जहाँ दैनिक करिब ४८ मेट्रिक टन फोहोर संकलन हुने अनुमान गरिएको छ। क्षेत्र नम्बर २ (वडा १, ११, २८, २९, ३०) का लागि प्राक्टिकल वेस्ट सोलुसन छनोट भएको छ, जहाँ दैनिक करिब ३६.५ टन फोहोर संकलन हुने अनुमान छ।
त्यस्तै क्षेत्र नम्बर ३ (वडा ६, ८, ९) मा क्रियटिभ सरसफाइ, क्षेत्र नम्बर ४ (वडा १६, १७, २६) मा मेची पोली इन्डस्ट्री, क्षेत्र नम्बर ५ (वडा १३, १४, १५) मा नेपाल ऊर्जा विकास कम्पनी तथा क्षेत्र नम्बर ६ (वडा १०, ३१, ३२) मा पोली वेस्ट म्यानेजमेन्ट छनोट भएका छन्।
महानगरले मटेरियल रिकभरी फ्यासिलिटीमार्फत सुख्खा फोहोर व्यवस्थापन गरी पुनः प्रयोग योग्य वस्तुबाट आय वृद्धि गर्ने र ल्यान्डफिल साइटमा जाने फोहोर न्यून गर्ने लक्ष्य राखेको जनाएको छ। महानगरको यो पहलले फोहोरलाई समस्या मात्र नभई सम्भावित आयस्रोतका रूपमा रूपान्तरण गर्न सकिने सन्देश दिएको छ।

प्रतिक्रिया