साँखु,काठमाडौँ। ऐतिहासिक तथा धार्मिक महत्व बोकेको साँखु नगरीमा आज श्री बज्रयोगिनी देवीको मूःजात्रा भक्तिरस, आत्मीयता र धार्मिक एकताको अनुपम वातावरणमा धूमधामका साथ सम्पन्न भएको छ। बिहानदेखि नै साँखुका टोल-टोलमा श्रद्धालु भक्तजन, भाइबन्धु, इष्टमित्र तथा आफन्तजनहरूको उल्लेखनीय उपस्थितिले नगरी उत्सवमय बनेको थियो।
मूःजात्राका क्रममा साल्खा टोलमा जोगी चक्र पूजा, वसुन्धरा माजु पूजा तथा सरकारी मरिसी चढाउने धार्मिक विधिहरू परम्पराअनुसार सम्पन्न गरिएको थियो। स्थान–स्थानमा रङिचङी रोटी, चतामरी तथा अन्य परिकारहरू चरा झैँ उडाउँदै देवीप्रतिको आस्था र उत्साह प्रकट गरिएको दृश्यले सम्पूर्ण वातावरणलाई अझ उल्लासमय बनाएको थियो।
खट टोल-टोलमा पुगेपछि स्थानीय भक्तजनलाई खट बोक्ने प्राथमिकता दिइएको थियो। यसले आपसी भाईचारा, धार्मिक सहिष्णुता र सामाजिक एकताको उत्कृष्ट नमूना प्रस्तुत गरेको स्थानीयले बताएका छन्। शंखरापुर साँखु नगरीको परिक्रमा गर्दै अघि बढेको खटयात्रामा सबै धर्म, जातजाति र समुदायका मानिसहरूको सहभागिताले जात्रालाई अझ व्यापक र अर्थपूर्ण बनाएको थियो।
करिब दिउँसो १ बजेदेखि खट बोक्ने कार्यक्रम सुरु गरिएकोमा साँझ ७ः३० बजे भगवानलाई पुनः द्योःछेंमा बिराजमान गराइएको थियो। परम्पराअनुसार आजदेखि भगवान द्योःसत्तलको बाहिर बिराजमान गरिनेछ भने सत्ययुगदेखि निरन्तर बल्दै आएको मानिने “गोँ सि” बाल्ने धार्मिक परम्परा पनि सुरु गरिएको छ।
करिब ३३०० वर्ष पुरानो इतिहास बोकेको साँखुको श्री बज्रयोगिनी जात्रा धार्मिक आस्था, पौराणिक विश्वास र सांस्कृतिक निरन्तरताको प्रतीकका रूपमा लिइन्छ। वर्षौंदेखि चल्दै आएको यो जात्राले स्थानीय समुदायबीच आत्मीयता, सहकार्य र एकताको सन्देश फैलाउँदै आएको छ। भक्तजनहरूको विश्वास अनुसार देवीको दर्शन तथा परिक्रमा गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहँदै आएको छ।
यस वर्षको मूःजात्रा पनि श्रद्धा, भक्ति र उत्साहका साथ सम्पन्न भएकोले साँखु नगरी पुनः एकपटक आध्यात्मिक ऊर्जा र सांस्कृतिक गौरवले भरिएको देखिएको छ।