कांग्रेसको नयाँ केन्द्रीय संरचना : २९७ सदस्यीय कार्यसमिति

lawanyasandesh.com

शंखरापुर(साँखु),काठमाण्डौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गठन हुने केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको आधिकारिक सूचनाअनुसार केन्द्रीय कार्यसमितिमा विभिन्न पदाधिकारीसहित खुला, महिला, प्रदेशगत तथा समावेशी समूहबाट प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ।

निर्वाचन समितिको सूचनाअनुसार केन्द्रीय कार्यसमितिमा सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ४, महामन्त्री ३ र सहमहामन्त्री १५ गरी २४ जना पदाधिकारी रहनेछन्।

उपसभापतितर्फ महिला १, समावेशी १ र खुला २ जना रहने व्यवस्था गरिएको छ। महामन्त्रीतर्फ महिला १ र खुला २ जना रहनेछन्। त्यस्तै सहमहामन्त्रीतर्फ महिला १, खुला २ तथा आदिवासी जनजाति, दलित, मधेसी, खस–आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यक/अपाङ्गता समूहबाट एक–एक जनाको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ।

केन्द्रीय सदस्यतर्फ महिला खुला १५ र खुला ४५ जना रहनेछन्। आदिवासी जनजाति महिला ८ र खुला १२, दलित महिला ५, मधेसी दलित १ र दलित खुला ८, मधेसी महिला ५ र मधेसी खुला ८ जना रहने व्यवस्था गरिएको छ।

त्यस्तै खस–आर्य महिला ५ र खस–आर्य खुला १०, थारू महिला २ र थारू खुला ४, मुस्लिम महिला २ र मुस्लिम खुला ३ जना रहनेछन्। पिछडिएको क्षेत्र महिला १ तथा खुला १ जना, अल्पसंख्यक १ र अपाङ्गता भएका व्यक्तिबाट १ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।

कांग्रेसको केन्द्रीय कार्यसमितिमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट समेत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। प्रदेशगत संरचनामा प्रत्येक प्रदेशबाट महिला र खुला समूहका सदस्य रहनेछन्।

नयाँ संरचनाले युवा पुस्तालाई समेत केन्द्रीय नेतृत्वमा समेटेको छ। ३५ वर्षमुनिका युवा महिला तथा खुला समूहबाट सातै प्रदेशको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ।

त्यस्तै नेपाली जनसम्पर्क समितिबाट महिला, युरोप, ओसियाना–अमेरिका, मध्यपूर्व, एसिया–प्रशान्त तथा भारतलगायत क्षेत्रलाई समेटेर केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।

केन्द्रीय कार्यसमितिमा श्रमिक महिला तथा खुला, पेसागत विषयगत क्षेत्रका महिला तथा खुला प्रतिनिधिलाई समेत समेटिएको छ। काठमाडौं उपत्यकाबाट महिला र खुला गरी दुई जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।

त्यसैगरी प्रजातन्त्र सेनानी, शहीद परिवार तथा द्वन्द्व प्रभावित परिवारलाई समेत केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार केन्द्रीय सदस्यतर्फ विभिन्न क्लस्टरबाट निर्वाचन हुने व्यवस्था गरिएको छ। यसरी पार्टीको केन्द्रीय नेतृत्वमा महिला, युवा, विभिन्न जातीय तथा सामाजिक समुदाय, प्रदेश र पेशागत क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

नयाँ संरचनामा जिल्लागत रूपमा प्रत्येक जिल्लाका लागि छुट्टाछुट्टै निश्चित संख्या तोकिएको छैन। खुला, महिला, प्रदेशगत तथा विभिन्न समावेशी क्लस्टरका आधारमा केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

नेपाली कांग्रेसको संशोधित विधानअनुसार गठन हुने २९७ सदस्यीय केन्द्रीय कार्यसमितिले पार्टीको आगामी राजनीतिक दिशा, संगठन सञ्चालन तथा नेतृत्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ।

एक नजरमा कांग्रेसको केन्द्रीय कार्यसमिति

सभापति — १

वरिष्ठ उपसभापति — १

उपसभापति — ४

महामन्त्री — ३

सहमहामन्त्री — १५

महिला खुला केन्द्रीय सदस्य — १५

खुला केन्द्रीय सदस्य — ४५

आदिवासी जनजाति — २०

दलित — १४

मधेसी — १४

खस–आर्य — १५

थारू — ६

मुस्लिम — ५

पिछडिएको क्षेत्र — २

अल्पसंख्यक — १

अपाङ्गता — १

प्रदेशगत प्रतिनिधित्व — २८

काठमाडौं उपत्यका — २

३५ वर्षमुनिका युवा — २१

श्रमिक — ३

पेसागत विषयगत क्षेत्र — ७

नेपाली जनसम्पर्क समिति — ७

प्रजातन्त्र सेनानी — ३

शहीद परिवार — १

द्वन्द्व प्रभावित परिवार — १

कुल केन्द्रीय कार्यसमिति — २९७ सदस्यीय।

शुचि



प्रतिक्रिया