शंखरापुर(साँखु),काठमाण्डौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र लामो समयदेखि रहँदै आएको गुटगत विभाजनको अभ्यास अब अन्त्य भएको घोषणा गर्नुभएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति थापाले महाधिवेशन सम्पन्न भएसँगै पार्टीभित्रका समूह र गुटको राजनीतिक अभ्यास पनि समाप्त भएको बताउनुभएको हो।
सभापति थापाले कांग्रेसमा विगतमा देखिएका ‘७४–३६’, देउवा समूह, कोइराला समूह र पौडेल समूहलगायतका गुटगत पहिचान अब इतिहास बनेको उल्लेख गर्नुभयो। महाधिवेशनमा कसैले जिते पनि वा हारे पनि, कसैले मत दिए पनि वा नदिए पनि अब सबै नेता–कार्यकर्ता एउटै परिवारको भावनाका साथ पार्टी निर्माणमा जुट्नुपर्ने उहाँको भनाइ थियो।
“महाधिवेशन सकिएपछि सबै कुरा सकिन्छ। जित्ने, हार्ने, मत हाल्ने वा नहाल्ने सबै साथीहरू एकअर्काप्रति प्रेम र परिवारको भावना बोकेर पार्टीलाई अप्ठ्यारो अवस्थाबाट बाहिर निकाल्ने संकल्पका साथ फर्किनुपर्छ,” सभापति थापाले भन्नुभयो।
उहाँले कांग्रेसका कमजोरीलाई लुकाउने नभई स्वीकार गरेर सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो। कांग्रेसलाई मत नदिएका नागरिकको घरदैलोसम्म पुगेर पार्टीप्रति विश्वास जगाउने अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो।
“हामीलाई मत नदिनेहरूको घरघरमा पुग्छौँ। युवाहरूलाई आजका समस्या समाधान गर्ने क्षमता कांग्रेससँग छ भन्ने विश्वास दिलाउनुपर्छ,” थापाले भन्नुभयो।
सभापति थापाले महाधिवेशन प्रतिनिधिहरूलाई महाधिवेशन सम्पन्न भएपछि विश्राम नगर्नसमेत आग्रह गर्नुभयो। आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै कम्तीमा छ महिना दिनरात नभनी पार्टीले तयार पारेको कार्ययोजनाअनुसार संगठन निर्माण र जनसम्पर्कमा खटिनुपर्ने उहाँले बताउनुभयो।
“यो पटक म तपाईंहरूलाई विश्राम गर्न दिनेछैन,” थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भन्नुभयो। निर्वाचनमा कांग्रेसलाई मत नदिएका नागरिकको घरघरमा पुगेर उनीहरूको कुरा सुन्ने र पार्टीप्रति विश्वासको वातावरण निर्माण गर्ने अभियानमा सबै नेता–कार्यकर्ता परिचालित हुनुपर्ने उहाँको धारणा थियो।
सभापति थापाले कांग्रेसको निर्माण र लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका अग्रज नेताहरू १५औँ महाधिवेशनको मञ्चमा उपस्थित हुन नसक्दा आफूलाई नमिठो लागेको समेत बताउनुभयो। निवर्तमान सभापति शेरबहादुर देउवाले कांग्रेस निर्माण तथा राजनीतिक संघर्षमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै उहाँले विगतका योगदानको सम्मान गर्दै नयाँ पुस्ताले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताउनुभयो।
महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै कांग्रेसको मुख्य ध्यान अब संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने सभापति थापाको भनाइ थियो।
गुट र समूहको सीमाभन्दा माथि उठेर एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले महाधिवेशनको प्रतिस्पर्धालाई यहीँ टुंग्याएर अब पार्टीलाई जनताको भरोसाको केन्द्रका रूपमा स्थापित गर्ने अभियानमा लाग्न सबै नेता–कार्यकर्तालाई आह्वान गर्नुभयो।