११ दिनपछि भग्नावशेषबाट ६४ वर्षीया चन्द्रिकाको चमत्कारिक उद्धार।

lawanyasandesh.com

शंखरापुर,काठमाण्डौं। भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीले घरै बगाएपछि परिवारले चण्डिका श्रेष्ठको माया मारिसकेको थियो। आठ दिनसम्म खोज्दा पनि अत्तोपत्तो नलागेपछि परिवारले कुशको शव बनाएर काजकिरिया सुरु गरिसकेको थियो। तर, मृत्यु संस्कार चलिरहेकै बेला बाढी आएको ११औँ दिनमा ६४ वर्षीया चण्डिका जीवितै फेला परेपछि परिवारमा खुसीको सीमा रहेन।

नुवाकोटको विदुर नगरपालिका–१० की श्रेष्ठलाई सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको उद्धार टोलीले बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट अर्धचेत अवस्थामा जीवितै उद्धार गरेको हो। बाढीले साढे चारतले घरलाई नै जुरुक्कै उचालेर बगाएको अवस्थामा पनि चण्डिका भग्नावशेषभित्र अड्किएर बाँच्न सफल भएकी थिइन्।

उद्धारपछि उनलाई तत्काल हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेकमा लगेर प्रारम्भिक उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि काठमाडौँको छाउनीस्थित सैनिक अस्पताल ल्याइएको छ।

चण्डिकाका सम्धी रमेशमान श्रेष्ठका अनुसार बाढीले बगाएको घर त्रिशूली नदीको किनारमा पुगेर अड्किएको थियो। परिवारले आठ दिनसम्म बेत्रावतीदेखि नदीको किनारसम्म खोजी गरे पनि चण्डिकाको कुनै पत्तो पाएन।

“हामीले आठौँ दिनसम्म धेरै खोज्यौँ। कहीँ कतै नभेटेपछि सम्भव छैन भनेर आशा मार्‍यौँ,” रमेशमानले भने।

चण्डिकाका ज्वाइँले समेत दुई–तीन दिनसम्म बेत्रावती र त्रिशूलीको किनारमा पुगेर खोजतलास गरेका थिए। तर, बाढीपछि फैलिएको दुर्गन्ध, शवहरू भेटिन थालेको अवस्था र दलदलका कारण खोजीकार्य अत्यन्त कठिन बनेको थियो। उद्धार टोलीसमेत सहज रूपमा पुग्न नसक्ने अवस्था भएपछि परिवार निराश भएर फर्किएको थियो।

त्यसपछि परिवारले काठमाडौँको सानो भर्‍याङस्थित घरमा कुशको शव बनाएर काजकिरिया सुरु गर्ने निर्णय गर्‍यो। वडा कार्यालयसँग आवश्यक प्रक्रिया पूरा गरेर मृत्यु संस्कार अघि बढाइएको थियो।

तर, परिवारका सदस्यहरू किरियामा बसे पनि रमेशमानको मनले भने चण्डिका जीवित हुन सक्ने सम्भावनालाई पूर्ण रूपमा त्याग्न सकेको थिएन।

“घरमै हो भने त पानी वा चाउचाउ जे खाएर भए पनि माथिल्लो तल्लामा गएर बसिरहेकी होली। एकचोटी फेरि खोजौँ भन्ने मलाई लागिरहेको थियो,” उनले भने।

अन्ततः ११औँ दिनमा त्यही आशा वास्तविकतामा परिणत भयो। उद्धारकर्ताले चण्डिकालाई जीवितै फेला पारेको खबर परिवारसम्म पुग्दा केही दिनअघिसम्म शोकमा डुबेको घरमा एकाएक खुसी छायो।

छोरीको फोन र सामाजिक सञ्जालमार्फत खबर पाएपछि रमेशमान तत्काल अस्पताल पुगे। तर, चिकित्सकले ७२ घण्टासम्म बिरामीलाई भेट्न नदिने बताएपछि उनी अस्पतालबाहिरै बसेर चण्डिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन्।

अस्पताल परिसरमा चण्डिकाका नाति पनि छन्। हजुरआमा जीवितै भेटिएको खबरपछि उनी भावुक बनेका छन्। “नाति रोएर हैरान पारेको छ, केही खाएको पनि छैन। फोटोमा देखेपछि ‘मेरी आमा चाहियो’ भन्दै जिद्दी गर्‍यो र यहाँ लिएर आएको हुँ,” रमेशमानले सुनाए।

उनका अनुसार अघिल्लो दिनमात्रै नातिले दिनभर भगवानको भजन गाएको थियो। चण्डिका जीवितै उद्धार भएको खबर पाएपछि रमेशमानले भावुक हुँदै भने, “यो संसारमा भगवान साँच्चै रहेछ जस्तो लाग्यो।”

विनाशकारी बाढीले परिवारको आशा नै समाप्त गरिदिएको अवस्थामा ११ दिनपछि भएको चण्डिकाको जीवित उद्धारले विपत्तिका बीच पनि जीवनको आशा कति बलियो हुन्छ भन्ने असाधारण उदाहरण प्रस्तुत गरेको छ। परिवारले मृत्यु संस्कार सुरु गरिसकेको अवस्थामा जीवितै फर्किएकी चण्डिकाको उद्धार अहिले बेत्रावतीको सबैभन्दा आश्चर्यजनक र भावुक घटनाका रूपमा चर्चामा छ।

प्रतिक्रिया