सकारात्मक साहित्यले समाज रूपान्तरणको नेतृत्व गर्नुपर्छ : डा. रामबहादुर राउत

lawanyasandesh.com

शंखरापुर, काठमाडौँ ।

तरेली साहित्य प्रतिष्ठानको १३७औँ साहित्यिक शृङ्खला शनिबार शंखरापुर नगरपालिका–६ स्थित श्री भाग्योदय माध्यमिक विद्यालय, साँखुमा सम्पन्न भएको छ। साहित्यमार्फत सकारात्मक सोच, सामाजिक सद्भाव, सिर्जनशील चेतना तथा नयाँ पुस्तामा साहित्यिक संस्कार विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा साहित्यकार, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


प्रतिष्ठानका अध्यक्ष रामेश्वर श्रेष्ठ ‘शैलेन्द्र’को सभापतित्व तथा नेपाल प्रशसनिय दृष्टिकोण राष्ट्रिय सञ्जालका राष्ट्रिय अध्यक्ष डा. रामबहादुर राउतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कान्छाप्रसाद तिवारीले गर्नुभएको थियो। कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष बालचन्द्र श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने नेपाल प्रशसनिय दृष्टिकोण राष्ट्रिय सञ्जालका महासचिव सुन्दर लामिछाने, वरिष्ठ उपाध्यक्ष घनश्याम कोइराला तथा प्रमुख अतिथि डा. राउतले साहित्य, शिक्षा र सामाजिक जागरणको सम्बन्धबारे विचार व्यक्त गर्नुभएको थियो।


प्रमुख अतिथि डा. राउतले समाजलाई निराशा, अभाव र विभाजनतर्फ धकेल्ने साहित्यभन्दा मानवता, सकारात्मक सोच, सामाजिक एकता, ऊर्जा र उत्साह जगाउने सिर्जनाको आवश्यकता रहेको बताउनुभयो। साहित्यले छुवाछूत, विभेद तथा नकारात्मक मानसिकताको अन्त्य गर्दै सभ्य, समुन्नत र सहिष्णु समाज निर्माणमा अग्रणी भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो।


उहाँले पाल्पा लगायत देशका विभिन्न जिल्लामा विद्यालय, शिक्षक र सामाजिक अभियन्ताहरूलाई जोडेर शैक्षिक तथा सामाजिक अभियानलाई थप प्रभावकारी बनाइने जानकारी दिँदै तरेली साहित्य प्रतिष्ठानसँग सुरु भएको सहकार्यले प्रतिष्ठानलाई राष्ट्रिय स्तरमा थप परिचित गराउने विश्वास व्यक्त गर्नुभयो। यो अभियान कुनै एक संस्था वा व्यक्तिको नभई सम्पूर्ण समाजको साझा अभियान भएकाले एक–अर्काको प्रशंसा, सम्मान र सहकार्यको संस्कृतिलाई सुदृढ बनाउन सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।


कार्यक्रममा ४२ जनाको सहभागिता रहेको थियो। त्यस अवसरमा ३० जना साहित्यकार तथा विद्यार्थीहरूले कविता, गजल र हाइकू वाचन गर्दै राष्ट्रप्रेम, मानवीय संवेदना, सामाजिक सद्भाव, प्रकृतिप्रेम, सकारात्मक सोच र जीवनदर्शनलाई कलात्मक रूपमा प्रस्तुत गरेका थिए। साहित्यकारहरु श्री भक्त जोशि, पुष्कर प्याकुरेल, अच्युत प्याकुरेल, शम्भु दुलाल, बालचन्द्र श्रेष्ठ, जी.बी. कार्की, मुकुन्द बिष्ट, कान्छाप्रसाद तिवारी लगायत श्रष्टाहरुले आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो। विद्यार्थीतर्फ सबिष्ना खड्का, दीपेन घर्तीमगर, कृष शाह, अमिशा शाह, प्रसिद्धि विष्ट, पेमा स्याङ्बो र सुनिता तामाङ लगायत विद्यार्थीहरुले पनि उत्साहपूर्ण रूपमा रचना वाचन गरेका थिए।


वाचन गरिएका कविता, गजल र हाइकूहरूमा मानवीय मूल्य, सामाजिक एकता, सकारात्मक सोच, प्रकृतिप्रेम, राष्ट्रिय चेतना तथा सिर्जनशील जीवनदृष्टिलाई प्रभावकारी रूपमा अभिव्यक्त गरिएको थियो। अग्रज र नवोदित स्रष्टाको संयुक्त सहभागिताले साहित्यिक परम्पराको निरन्तरता र नयाँ पुस्तामा सिर्जनात्मक चेतनाको विकास हुने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए।


बिहान ११ः३० बजे प्रारम्भ भएको कार्यक्रम दिउँसो २ः०० बजे सम्पन्न भएको थियो। समापनका अवसरमा सभापति रामेश्वर श्रेष्ठ ‘शैलेन्द्र’ले यस्ता नियमित साहित्यिक शृङ्खलाले सिर्जनशील प्रतिभाको विकास, सामाजिक चेतनाको विस्तार तथा सकारात्मक साहित्यिक आन्दोलनलाई बल पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, अतिथिहरू, साहित्यकार, विद्यार्थी, श्री भाग्योदय माध्यमिक विद्यालय परिवार तथा सम्पूर्ण सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै प्रतिष्ठानले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


प्रतिक्रिया