शंखरापुर (साँखु), काठमाण्डौं। काठमाडौँ उपत्यकामा सुख्खा मौसम सुरु भएसँगै वायु प्रदूषणको स्तर बढ्न थालेको छ। पछिल्ला दिनमा उपत्यकाका विभिन्न क्षेत्रमा वायुको गुणस्तर अस्वस्थकर तहमा पुगेपछि नागरिकको स्वास्थ्यमा जोखिम बढेको छ।
स्विट्जरल्यान्डस्थित वायु गुणस्तर अनुगमन संस्था आईक्यूएयरका अनुसार शुक्रबार बिहान काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १११ पुगेको थियो। बिहीबार बानेश्वर क्षेत्रमा एक्यूआई १५३ सम्म पुगेको थियो भने शुक्रबार बिहान ९ः१५ बजे सोही क्षेत्रमा १२७ मापन गरिएको थियो।
काठमाडौँ महानगरपालिकाको वायु गुणस्तर अनुगमन प्रणालीले पनि स्वयम्भू, बालाजु, टेकु, डल्लु, थापाथली, क्षेत्रपाटी, जडीबुटी, असन, कमलादी, शान्तिनगर, चाबहिल, लैनचौर र हाँडीगाउँलगायतका क्षेत्रमा प्रदूषणको अवस्था चिन्ताजनक रहेको देखाएको छ।
वर्षा कम हुँदै जाँदा वातावरणमा धुलो, धुवाँ तथा अन्य प्रदूषक कणहरू जम्मा हुने भएकाले उपत्यकाको वायु गुणस्तर खस्कने गरेको छ। सवारीसाधनबाट निस्कने धुवाँ, निर्माण कार्यबाट उड्ने धुलो, उद्योग तथा इँटाभट्टाबाट हुने उत्सर्जन र फोहोर जलाउने प्रवृत्तिले पनि प्रदूषण बढाउन योगदान पुर्याउँदै आएका छन्।
विशेषगरी सूक्ष्म धुलोका कण (पीएम २.५) स्वास्थ्यका दृष्टिले बढी जोखिमपूर्ण मानिन्छन्। यस्ता कण श्वासप्रश्वासमार्फत फोक्सोको भित्री भागसम्म पुग्न सक्ने र रक्तप्रवाहमा समेत प्रवेश गर्न सक्ने भएकाले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्छन्।
वायु प्रदूषणका कारण दम, खोकी, श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुरोग तथा फोक्सोसम्बन्धी रोगको जोखिम बढ्न सक्छ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा पहिलेदेखि नै श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा रहने चिकित्सकीय मान्यता छ।
प्रदूषणको मात्रा बढेका बेला अनावश्यक रूपमा बाहिर ननिस्कने, अत्यधिक धुलो तथा धुवाँ भएको स्थानबाट टाढा रहने, बाहिर निस्कनुपर्दा उपयुक्त मास्क प्रयोग गर्ने र घरभित्रको वातावरण सफा राख्ने जस्ता सावधानी अपनाउन आवश्यक देखिन्छ।
काठमाडौँ महानगरपालिकाले पनि वायु प्रदूषण बढाउने गतिविधि नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
वायु प्रदूषण नियन्त्रणका लागि सरकारले दीर्घकालीन नीति तथा प्रभावकारी कार्ययोजना लागू गर्नुपर्ने आवश्यकता देखिएको छ। सवारीसाधनको नियमित प्रदूषण परीक्षण, निर्माणस्थलमा धुलो नियन्त्रण, सार्वजनिक यातायातको प्रवर्द्धन, हरियाली विस्तार र फोहोर जलाउने कार्यको नियन्त्रणमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
जलवायु र वातावरणीय समस्यासँग प्रत्यक्ष जोडिएको वायु प्रदूषण अहिले काठमाडौँ उपत्यकाका बासिन्दाका लागि गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखिन थालेको छ।