इन्धनमा नयाँ मूल्य समायोजन : पेट्रोल र डिजेल सस्तो, ग्यास र हवाई इन्धन महँगियो

lawanyasandesh.com

शंखरापुर,काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः समायोजन गर्दै पेट्रोल र डिजेल/मट्टितेलको मूल्य घटाएको छ भने खाना पकाउने एल.पी. ग्यास तथा हवाई इन्धनको मूल्य बढाएको छ। निगमले बिहीबार जारी गरेको सूचनाअनुसार नयाँ मूल्य शुक्रबार बिहान १२ बजेदेखि लागू भएको हो।


नयाँ समायोजनसँगै पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल/मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँले कमी गरिएको निगमले जनाएको छ। यस निर्णयपछि उपभोक्ताले केही राहत महसुस गर्ने अपेक्षा गरिएको छ, विशेषगरी सार्वजनिक यातायात, कृषि तथा ढुवानी क्षेत्रमा यसको सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ।
नयाँ दरअनुसार पहिलो वर्गका क्षेत्रहरूमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा कायम गरिएको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २२२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
तर, अर्कोतर्फ खाना पकाउने एल.पी. ग्यासको मूल्य भने फेरि बढाइएको छ। निगमले प्रति सिलिन्डर १५० रुपैयाँ वृद्धि गरेसँगै अब एक सिलिन्डर ग्यासको मूल्य २१६० रुपैयाँ पुगेको छ। ग्यासको मूल्यवृद्धिले घरायसी उपभोक्तालाई थप आर्थिक भार पर्ने देखिएको छ।
त्यस्तै, हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ७ रुपैयाँ वृद्धि गरिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि काठमाण्डौंका लागि प्रति किलोलिटर ४६ अमेरिकी डलर ले मूल्य बढाइएको निगमले जनाएको छ। यसले हवाई सेवा प्रदायक कम्पनीहरूको सञ्चालन लागत बढाउने र सम्भावित रूपमा हवाई भाडामा समेत प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य, ढुवानी लागत तथा विनिमय दरमा आएको परिवर्तनका आधारमा मूल्य समायोजन गरिएको जनाएको छ। पछिल्ला महिनाहरूमा विश्व बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव भइरहेकाले नेपालमा पनि बेला–बेलामा मूल्य समायोजन हुँदै आएको छ।
पेट्रोल र डिजेलको मूल्य घटे पनि ग्यास र हवाई इन्धन महँगिएपछि उपभोक्तामा मिश्रित प्रतिक्रिया देखिएको छ। यातायात व्यवसायी, किसान तथा निजी सवारीधनीले राहत महसुस गरे पनि ग्यास प्रयोगकर्ता सर्वसाधारण भने पुनः महँगीको मारमा परेका छन्।

प्रतिक्रिया