रोल्पामा तीर्थयात्री बोकेको जीप दुर्घटना : १७ जनाको मृत्यु

lawanyasandesh.com

शंखरापुर काठमाण्डौं,  रोल्पामा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ। जिल्लाको थवाङ गाउँपालिका अन्तर्गत जलजला क्षेत्रमा भएको भीषण दुर्घटनामा जीप सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भोलि लाग्ने वैशाखे पूर्णिमाका अवसरमा पूजा गर्न रुकुमपूर्वबाट तीर्थयात्री बोकेर गएको ४१६७ नम्बरको जीप दुर्घटनामा परेको हो। जलजला धार्मिक स्थलतर्फ जाँदै गरेको जीप अचानक अनियन्त्रित भई गहिरो भीरमा खसेपछि ठूलो मानवीय क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

इलाका प्रहरी कार्यालय थवाङका अनुसार घटनास्थल दुर्गम क्षेत्रमा रहेको र त्यहाँ निरन्तर भारी वर्षा भइरहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ। प्रतिकूल मौसमका कारण सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा उद्धार अभियान जारी राखिएको जनाइएको छ।

दुर्घटनामा घाइते भएका व्यक्तिहरूको संख्या तथा उनीहरूको अवस्था सम्बन्धी पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। साथै दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।

वैशाखे पूर्णिमाका अवसरमा धार्मिक आस्थाका साथ यात्रा गरिरहेका तीर्थयात्रीहरू दुर्घटनामा परेपछि रोल्पासहित आसपासका जिल्लामा शोकको वातावरण छ।

प्रतिक्रिया