शंखरापुर,काठमाण्डौं। बागमती प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको सहरी विकास तथा भवन कार्यालय, काठमाडौँ ले चालु आर्थिक वर्षका योजनाहरू कार्यान्वयनलाई तीव्रता दिन उपभोक्ता समिति गठन तथा योजना सम्झौता प्रक्रिया वैशाख मसान्तभित्रै सम्पन्न गर्न निर्देशन दिएको छ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत स्थानीय तहहरूमा विनियोजित बजेटबाट सञ्चालन हुन बाँकी योजनाहरू समयमै अघि बढाउन यस्तो समयसीमा निर्धारण गरिएको जनाएको हो।
सूचनाअनुसार उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाहरूको समिति गठन, आवश्यक कागजी प्रक्रिया तथा सम्झौता कार्य २०८३ वैशाख मसान्तसम्म मात्र गर्न सकिनेछ। तोकिएको समयभित्र प्रक्रिया पूरा नगरे योजनाको कार्यान्वयन प्रभावित हुन सक्ने चेतावनीसमेत दिइएको छ।
कार्यालयले हालसम्म सुरु हुन नसकेका योजनाहरूको हकमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि तथा सरोकारवालासँग आवश्यक समन्वय र सहजीकरण गरी प्रक्रिया छिटो अघि बढाउन आग्रह गरेको छ।
कार्यालय प्रमुख सुबोध अधिकारी द्वारा जारी सूचनामा विकास निर्माणका काम आर्थिक वर्षको अन्त्यतिर हतारमा गर्ने पुरानो प्रवृत्तिलाई रोक्दै योजनाहरू समयमै सम्पन्न गर्ने उद्देश्यले समयसीमा तोकिएको उल्लेख गरिएको छ।
यस निर्णयसँगै प्रदेश सरकारबाट विनियोजित बजेटका योजनाहरू समयमै कार्यान्वयन हुने अपेक्षा गरिएको छ।