शंखरापुर, काठमाडौं — शंखरापुर नगरपालिका–९ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको आयोजनामा नगरस्तरीय ‘अन्तर सामुदायिक विद्यालय हस्तलेखन प्रतियोगिता’ सम्पन्न भएको छ। विद्यार्थीको हस्तलेखनमा सुधार ल्याउनुका साथै सिर्जनात्मकता, एकाग्रता, अनुशासन र प्रस्तुति क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
शंखरापुर नगरपालिकाभित्रका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीको उत्साहजनक सहभागिता रहेको प्रतियोगितामा तीनै तहका विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको थियो।
कार्यक्रमको अध्यक्षता श्री राष्ट्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तुल्सीनारायण श्रेष्ठले गर्नुभएको थियो। उहाँले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूमा रहेको सिर्जनात्मक प्रतिभा पहिचान र प्रस्फुटनका लागि विद्यालयस्तरमा यस्ता अतिरिक्त तथा सिर्जनात्मक गतिविधिलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
अध्यक्ष श्रेष्ठले हस्तलेखन प्रतियोगिता विद्यार्थीबीच प्रतिस्पर्धा गराउने माध्यम मात्र नभई उनीहरूमा धैर्य, अनुशासन, एकाग्रता र मेहनत गर्ने बानीको विकास गराउने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो। विद्यालयहरूले पाठ्यपुस्तकमा आधारित शिक्षासँगै विद्यार्थीको व्यवहारिक तथा सिर्जनात्मक क्षमताको विकासमा समेत विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो। उहाँले प्रतियोगितामा सहभागी सबै विद्यार्थी तथा विद्यालयलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि शंखरापुर नगरपालिका–९ का वडाध्यक्ष सहदेव श्रेष्ठले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा रचनात्मक कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। हस्तलेखन केवल अक्षर लेख्ने कार्य नभई विद्यार्थीको अनुशासन, धैर्य, एकाग्रता र प्रस्तुति क्षमताको समेत प्रतिबिम्ब भएको उहाँले उल्लेख गर्नुभयो।
विद्यार्थीलाई थप हौसला र प्रोत्साहन प्रदान गर्न वडाध्यक्ष श्रेष्ठले आफ्नै व्यक्तिगततर्फबाट प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः दुई हजार, एक हजार पाँच सय र एक हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
कार्यक्रमकी विशेष अतिथि शंखरापुर नगरपालिका शिक्षा शाखाकी वरिष्ठ शाखा अधिकृत प्रमिला पुडासैनीले नगरभित्रका सामुदायिक विद्यालयबीच शैक्षिक गुणस्तर अभिवृद्धि, स्वस्थ प्रतिस्पर्धा र आपसी सद्भाव कायम गर्न प्रतियोगिताले योगदान पुर्याउने बताउनुभयो।
प्रतियोगिताको माध्यमिक तहतर्फ भगवती माध्यमिक विद्यालयकी रेश्मिता मगर प्रथम, भाग्योदय माध्यमिक विद्यालयकी खुशी तामाङ द्वितीय र आयोजक राष्ट्रिय माध्यमिक विद्यालयकी प्रिया बस्नेत तृतीय हुनुभयो।
निम्न माध्यमिक तहतर्फ राष्ट्रिय माध्यमिक विद्यालयकी सुप्रिया कार्की प्रथम, भाग्योदय माध्यमिक विद्यालयकी देविका लिम्बु द्वितीय तथा भगवती माध्यमिक विद्यालयकी कृषा केसी तृतीय हुनुभयो।
यसैगरी, प्राथमिक तहतर्फ भगवती माध्यमिक विद्यालयका अनमोल थापा प्रथम, कालिकाशरण माध्यमिक विद्यालयकी संचिता थिङ द्वितीय तथा वनदेवी आधारभूत विद्यालयका अविनाश स्याङ्बो तृतीय हुनुभयो।
निर्णायक मण्डलले अक्षरको बनावट, शुद्धता, स्पष्टता र सफाइलाई मुख्य आधार बनाएर विजेता छनोट गरेको थियो। विजयी विद्यार्थीलाई नगद पुरस्कार, ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो।
रामप्रसाद दुलालले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक बालकृष्ण श्रेष्ठले संयोजन गर्नुभएको थियो। कार्यक्रममा अभिभावक सङ्घका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक अर्जुन श्रेष्ठलगायत विभिन्न सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाको उपस्थिति रहेको थियो।
समापनका क्रममा अध्यक्ष तुल्सीनारायण श्रेष्ठले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, विशेष अतिथि, शिक्षक–शिक्षिका, अभिभावक, सहभागी विद्यालय तथा विद्यार्थीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता विकासका लागि विद्यालयले आगामी दिनमा पनि शैक्षिक, सिर्जनात्मक तथा बौद्धिक गतिविधिलाई प्राथमिकताका साथ निरन्तरता दिने बताउँदै कार्यक्रम समापन गर्नुभयो।