शंखरापुर, काठमाडौँ । विभिन्न सञ्चारमाध्यमका कार्यालयअगाडि शंकास्पद रूपमा सवारीसाधन तेर्स्याएर प्रवेशमा अवरोध सिर्जना गरिएको घटनाले राजनीतिक तथा सञ्चार क्षेत्रमा व्यापक चासो र बहस उत्पन्न गरेको छ। सोमबार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालयअगाडि कार्यालय प्रवेशमै अवरोध हुने गरी पार्किङ गरिएका तीनवटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार तीनवटै गाडीलाई क्रेनमार्फत बग्गीखाना लगिएको छ। गाडी कसले, किन र कुन उद्देश्यले ती स्थानमा राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यातायात व्यवस्था विभागको विवरणअनुसार घटनामा प्रयोग गरिएका तीनमध्ये एउटा गाडी सानिमा बैंकको नाममा दर्ता रहेको छ भने अन्य दुई गाडी क्रमशः सुनिल पौडेल र सुवास भण्डारीको नाममा दर्ता रहेको खुलेको छ। कान्तिपुर पब्लिकेसनको कार्यालयअगाडि तेर्स्याइएको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा रहेको पाइएको छ। त्यसैगरी अनलाइनखबरको कार्यालयअगाडि भेटिएको बा. १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेल र हिमालय टेलिभिजनको कार्यालयअगाडि राखिएको बा. १२ च १२५५ नम्बरको गाडी सुवास भण्डारीको नाममा दर्ता रहेको तथ्य सार्वजनिक भएको छ।
घटनापछि सञ्चारकर्मी, नागरिक समाज तथा विभिन्न राजनीतिक दलहरूले प्रेस स्वतन्त्रतामाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने उद्देश्यले यस्तो गतिविधि गरिएको हुन सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
यसैबीच, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि दबाब सिर्जना गर्ने दिशामा उन्मुख भएको आरोप लगाएका छन्। ४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी नेताका घर, सञ्चारमाध्यमका कार्यालय तथा व्यवसायिक प्रतिष्ठानअगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताए।
उनले नागरिकको निजी सम्पत्ति, व्यवसाय र जीविकामाथि असर पार्ने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने उल्लेख गर्दै स्थानीयवासीलाई उद्धृत गर्दै गाडी तेर्स्याउन आएका व्यक्तिहरू सरकारी गाडी चढेर फर्किएको सूचना आफूले पाएको दाबी गरे। पछिल्लो समय सुकुम्बासी समस्या तथा गणेश नेपालीको आत्मदाह प्रकरणलगायत विषयमा सरकारमाथि प्रश्न उठ्न थालेपछि प्रतिशोधपूर्ण शैलीमा यस्तो गतिविधि भएको हुन सक्ने आशंका पनि उनले व्यक्त गरे।
उता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सञ्चार गृहहरूलाई त्रसित बनाउने तथा सञ्चारकर्मीमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने उद्देश्यका यस्ता गतिविधि लोकतान्त्रिक व्यवस्था र संविधानद्वारा प्रत्याभूत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर चुनौती भएको उल्लेख गरिएको छ।
रास्वपाले कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने तथा लोकतन्त्रको चौथो अंगलाई कमजोर बनाउने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ। साथै घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र तथ्यपरक छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, सञ्चार संस्थाको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न तथा पत्रकारहरूलाई निर्भीक रूपमा आफ्नो व्यावसायिक दायित्व निर्वाह गर्ने वातावरण बनाउन नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग जोडदार माग गरेको छ।
यस घटनाले प्रेस स्वतन्त्रता, सञ्चार संस्थाको सुरक्षा तथा लोकतान्त्रिक अभ्यासप्रति राज्यको दायित्वबारे पुनः गम्भीर बहस सिर्जना गरेको छ। घटनाको वास्तविक उद्देश्य र संलग्न व्यक्तिको पहिचानबारे प्रहरी अनुसन्धान जारी रहेकाले त्यसको निष्कर्षप्रति सञ्चार क्षेत्र, राजनीतिक वृत्त र सर्वसाधारणको समान चासो रहेको छ।