रास्वपाभित्र दुई धार, उपसभामुख निर्वाचनमा राप्रपालाई झट्का

lawanyasandesh.com

साँखु,काठमाडौं । उपसभामुख निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको दुई शक्तिकेन्द्रका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अन्तिम समयमा झट्कामा परेको छ। रास्वपा सभापति रवि लामिछानेले समर्थन गर्ने संकेत दिएपछि राप्रपाकी सांसद सरस्वती लामाले बिहीबार उम्मेदवारी दर्ता गरेकी थिइन्। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीका अनुसार लामिछानेसँगको टेलिफोन संवादपछि दलको बैठक बसेर उम्मेदवारी दर्ता गरिएको थियो।
तर उम्मेदवारी दर्ताकै क्रममा रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटी सहितका नेताहरू श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरको समर्थनमा पुगेपछि राप्रपा आश्चर्यमा परेको हो। रास्वपा सांसद राजन गौतमले नै ‘रास्वपा सरप्राइज दिने पार्टी’ भएको प्रतिक्रिया दिएका थिए।
शाहीले यसलाई सामान्य राजनीतिक प्रक्रिया भन्दै सबै प्रतिपक्षी एकजुट हुने अपेक्षामा आफूहरूले उम्मेदवारी दिएको बताए। यता रास्वपा महामन्त्री बुर्लाकोटीले अन्तिम १० मिनेटमा मात्र पार्टी निर्णयमा पुगेको र युवा तथा मधेसको प्रतिनिधित्वका कारण श्रम संस्कृति पार्टीलाई समर्थन गरिएको स्पष्ट पारे।
स्रोतका अनुसार सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबीच समर्थनबारे मतभेद देखिएको थियो। लामिछाने राप्रपालाई समर्थन गर्ने पक्षमा रहे पनि प्रधानमन्त्री शाह पुराना दलसँग सहकार्य गर्न इच्छुक नभएपछि स्थिति फेरिएको बताइन्छ। त्यसपछि प्रधानमन्त्री शाहको सचिवालयबाट श्रम संस्कृति पार्टीलाई उम्मेदवारी दिन आग्रह भएको र अन्ततः रास्वपाले पनि त्यही पक्षमा उभिने निर्णय गरेको जनाइएको छ।
यसअघि पनि सरकार गठनका बेला गृहमन्त्री नियुक्तिमा सभापति र प्रधानमन्त्रीबीच मतभेद देखिएको थियो। रास्वपाको अन्तिम समयको निर्णय श्रम संस्कृति पार्टीका लागि समेत अप्रत्याशित बनेको छ। रास्वपाको समर्थन पाएपछि उपसभामुख उम्मेदवार रूबीकुमारी ठाकुरले निर्णयलाई ‘सरप्राइज’ भनेकी छन्।
श्रम संस्कृति पार्टीका नेता आरेन राईले भने यसलाई राजनीतिक खेल नभई “देशका लागि काम गर्ने निर्णय” भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया