साँखु,काठमाडौं। वरिष्ठ पत्रकार, भाषा अभियन्ता तथा नेपाल भाषा आन्दोलनका अथक योद्धा सुरेश किरण मानन्धरको असामयिक निधन भएको छ।
नेपाल भाषा, साहित्य र नेवा सभ्यताको संरक्षण तथा प्रवर्द्धनका लागि जीवनभर सक्रिय रहनुभएका मानन्धरको निधनले पत्रकारिता, भाषा–संस्कृति तथा बौद्धिक क्षेत्रलाई गहिरो क्षति पुगेको छ।
मानन्धर हाल भाषा आयोगका सदस्यका रूपमा कार्यरत थिए। साथै उहाँ नेवा पत्रकार राष्ट्रिय दबुका केन्द्रीय सल्लाहकारसमेत हुनुहुन्थ्यो। नेपाल भाषा आन्दोलन, नेवा सभ्यता तथा मौलिक सांस्कृतिक पहिचान जोगाउन उहाँले लामो समयदेखि निरन्तर आवाज उठाउँदै आएका थिए। पत्रकारिता, साहित्य र भाषा आन्दोलनका विभिन्न अभियानमा उहाँको सक्रिय सहभागिता र नेतृत्वलाई अत्यन्त महत्वपूर्ण योगदानका रूपमा स्मरण गरिन्छ।
जानकारीअनुसार सोमबार साँझ काठमाडौँमा आयोजित एक कार्यक्रममा सहभागी भइरहँदा अचानक हृदयघात भएपछि मानन्धरलाई तत्काल उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) लगिएको थियो। चिकित्सकहरूको प्रयासका बाबजुद उहाँलाई बचाउन सकिएन।
उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि फागुन २७ गते बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म नेपाल भाषा मङ्का खलःको प्राङ्गणमा राखिएको थियो। पत्रकार, साहित्यकार, भाषा अभियन्ता, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूले त्यहाँ पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए। सोही दिन उहाँको अन्त्येष्टि लुतीघाट, खुसिबुमा गरिएको थियो।
विसं २०२३ साल कार्तिकमा जन्मनुभएका मानन्धरले नेपाल भाषा पत्रकारिता र साहित्यिक क्षेत्रमा दीर्घकालीन योगदान दिएका थिए। नेपाल भाषा र नेवा संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका लागि उहाँले विभिन्न लेख, अनुसन्धान र आन्दोलनमार्फत उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो।
भाषा, संस्कृति र पहिचानको सवालमा दृढ अडान राख्ने मानन्धरलाई नेपाल भाषा आन्दोलनका एक निष्ठावान अभियन्ताका रूपमा सम्मान गरिन्छ। उहाँको निधनले नेपाल भाषा आन्दोलन, नेवा समुदाय तथा समग्र नेपाली पत्रकारिता क्षेत्रले एक प्रतिबद्ध, इमानदार र दूरदर्शी व्यक्तित्व गुमाएको छ।
मानन्धरप्रति विभिन्न पत्रकार संघ–संस्था, भाषा अभियन्ता, साहित्यकार तथा सांस्कृतिक व्यक्तित्वहरूले गहिरो शोक व्यक्त गर्दै उहाँले भाषा, संस्कृति र पत्रकारिताका क्षेत्रमा पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहने बताएका छन्।